काठमाडौं। अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापति बनेका छन्।
महासंघको कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा रहेको समितिमा पौडेललाई उपसभापतिको जिम्मेवारीमा मनोनित गरिएको हो। यातायात तथा पारवहन क्षेत्रका व्यवसायिक र नीतिगत विषयमा काम गर्दै आएको समितिमा पौडेलको प्रवेशसँगै उनको भूमिका अटोमोबाइल व्यवसायबाट समग्र यातायात क्षेत्रका मुद्दातर्फ विस्तार हुने भएको छ।
पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिवका साथै अल्फा अटोमोटिभ प्रालिका निर्देशक हुन्। पौडेल अटोमोबाइल बजारको विकास, व्यवसाय विस्तार तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा लामो समयदेखि सक्रिय छन्।
नेपालमा रोयल इन्फिल्डको बजार विस्तारको प्रारम्भिक चरणदेखि नै संलग्न पौडेलको अटोमोबाइल क्षेत्रका समग्र चूनौती र सम्भावनासँग रामोसँग परिचित समेत छन्।
व्यावसायिक गतिविधिसँगै पौडेलले नीतिगत बहसमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। नाडामार्फत कर तथा राजस्व, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण, स्थानीय उत्पादन र स्वदेशी पार्ट्सको प्रयोगलगायत विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा उनले सहभागिता जनाउँदै आएका छन्।
नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन स्थानीय उत्पादन र एसेम्बली उद्योगको विस्तार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका स्वदेशी पार्ट्सको प्रयोग तथा व्यवसायमैत्री नीतिको आवश्यकता रहेको विषयमा पनि उनले निरन्तर जोड दिँदै आएका छन्।
अब एफएनसिसिआईको समितिमा रहेर पौडेलले यातायात तथा पारवहन क्षेत्रका व्यवसायिक समस्या, व्यापार सहजीकरण र नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्ने प्रक्रियामा भूमिका खेल्ने आशा गरिएको छ। महासंघले पनि उनको अटोमोबाइल क्षेत्रको अनुभव, ज्ञान र सक्रियताले समितिका आगामी काम तथा पहललाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।
यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रका सरोकारलाई अघि बढाउँदै आएको छ। पौडेलको नयाँ जिम्मेवारीले उनको लामो व्यावसायिक अनुभवलाई व्यापक यातायात तथा पारवहन क्षेत्रका मुद्दासँग जोड्ने अवसर प्रदान गरेको छ।