• २०८३ असोज ९
  • 2026 September 25, Friday

सिस्डोल ल्याण्डफिल साइटमा पहिरो, काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको सिस्डोलस्थित ल्याण्डफिल साइटमा लेदोसहितको माटो खस्न थालेपछि फोहोर व्यवस्थापन प्रभावित भएको छ।

काठमाडौं महानगरपालिकाका अनुसार ल्याण्डफिल साइटको माथिल्लो भागबाट लेदो र माटो बग्ने क्रम जारी रहेकाले फोहोर बोकेका सवारीसाधनलाई साइटसम्म पुग्न तथा फोहोर विसर्जन गर्न कठिनाइ भएको हो। यसका कारण केही समयका लागि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन हुन नसक्ने महानगरले जनाएको छ।

महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै फोहोर संकलन प्रभावित हुने अवधिमा घर, पसल, व्यवसाय तथा परिसरबाट निस्कने फोहोर बाहिर ननिकाल्न नगरवासीलाई आग्रह गरेको छ। सडक, चोक, सार्वजनिक स्थल, खुला स्थान तथा खोला–नालामा फोहोर नफाल्न पनि महानगरले अनुरोध गरेको छ।

फोहोर संकलन नियमित नहुँदासम्म सम्भव भएसम्म घर वा आफ्नै परिसरभित्र सुरक्षित रूपमा फोहोर राख्न र व्यवस्थापन सहज बनाउन कुहिने तथा नकुहिने फोहोर छुट्टाछुट्टै राख्न महानगरले सुझाव दिएको छ।

वर्षायाममा सार्वजनिक स्थान तथा सडकमा जथाभावी फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै ढल तथा नालामा फोहोर थुप्रिएर पानीको निकासमा समस्या आउन सक्ने महानगरको भनाइ छ। यसले बाढी तथा डुबानको जोखिमसमेत बढाउन सक्ने भएकाले नागरिकलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ।

वर्षा कम हुनुका साथै ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन, ढुवानी तथा विसर्जन सेवा पुनः नियमित गरिने महानगरपालिकाले जनाएको छ।