काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त अरब इमिरेट्सको स्थायी नियोगमा भएको भेटवार्तामा नेपाल–यूएई सम्बन्धका विविध पक्षबारे छलफल भएको हो ।
भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य बाढीबाट प्रभावित समुदायका लागि संयुक्त अरब इमिरेट्स सरकार र जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता तथा मानवीय सहयोगप्रति गहिरो आभार व्यक्त गरेका थिए ।
यूएईले बाढी प्रभावित समुदायका लागि थप २ करोड ५० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा पनि मन्त्री खनालले धन्यवाद दिएका थिए ।
भेटवार्तामा दुवै पक्षले आपसी हितका विषयमा रचनात्मक छलफल गरेका थिए । नेपाल र यूएईबीचको घनिष्ठ तथा सहकार्यपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उनीहरूबीच सहमति भएको थियो ।
दुवै पक्षले श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, सम्पर्क सञ्जाल तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्य लगायतका पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।