काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार गरेको वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।
रिपोर्टअनुसार ट्रम्पले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः हवाई हमला गर्न सकिने बताएका छन् ।
इरानले युद्धविरामसँगै होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्ताव अघि सारेको थियो। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकाबाट आवश्यक सर्त पूरा भएमा जलडमरूमध्य खोल्ने प्रक्रिया सुरु गर्न सकिने बताएका छन् ।
इरानको प्रस्तावबारे अमेरिकाबाट औपचारिक जवाफको प्रतीक्षा भइरहेको इरानी पक्षले जनाएको छ । यसैबीच, ट्रम्पले इरानसँग निर्वाचनपछि सम्झौता हुन सक्ने बताउँदै आएका छन् ।
रोयटर्सले भने वाल स्ट्रिट जर्नलको उक्त रिपोर्टलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बिहीबार न्युयोर्कमा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष हर्मुज जलमार्ग खोल्न नयाँ सात दिने युद्धविराम प्रस्ताव अमेरिकासमक्ष राखेका थिए।
इरानले निश्चित सर्त पूरा भए सात दिनभित्र होर्मुज खोल्ने र त्यसपछि अमेरिका–इरानबीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता सुरु गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको थियो।
राष्ट्रसंघको महासभाका क्रममा पत्रकार तथा प्राज्ञहरूको भेलामा अराघ्चीले प्रस्ताव स्वीकार भएको भोलिपल्टदेखि सात दिनको समयसीमा सुरु हुने र त्यसपछि होर्मुज खोलिने बताएका थिए।
इरानको नयाँ प्रस्ताव गत जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्रमा आधारित थियो।
उक्त समझदारीमा अप्रिलमा भएको युद्धविरामलाई थप ६० दिन लम्ब्याउने, इरानी तेल निर्यात र ढुवानीमा अमेरिकी प्रतिबन्धबाट छुट दिने तथा हर्मुजबाट हुने समुद्री आवागमनलाई युद्धअघिको अवस्थामा क्रमशः फर्काउने व्यवस्था गरिएको थियो।
त्यस अवधिमा दुवै पक्षले दीर्घकालीन समाधानका लागि वार्ता गर्ने सहमति गरेका थिए।
समझदारीअनुसार इसराइलले लेबननमा तत्काल सैन्य कारबाही रोक्नुपर्ने तथा हर्मुजमा समुद्री आवागमनको भविष्यको व्यवस्थापन इरान र छिमेकी ओमानले तय गर्ने भनिएको थियो।
तर जुलाईको सुरुवातमै उक्त समझदारी भंग भएको थियो।
त्यसपछि इरानले आफूले ‘अनधिकृत’ मार्ग प्रयोग गरेको बताएको केही पानीजहाजमाथि कारबाही गरेको थियो।
अमेरिकी पक्ष भने हर्मुजको विषयसँगै इरानको आणविक कार्यक्रमसमेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा रहेको वार्तासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।
ट्रम्पले यसअघि भएको समझदारीमा फर्किन पनि अस्वीकार गर्दै आएका छन्।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभाका क्रममा कतारको मध्यस्थतामा अमेरिकी र इरानी प्रतिनिधिबीच वार्ता भएको थियो।
दुवै पक्षले उक्त वार्तालाई सकारात्मक र रचनात्मक भनेका थिए।
तर इरानी पक्षले अमेरिकाले कुनै सम्झौता कार्यान्वयन गर्ने विषयमा आफूहरू विश्वस्त नरहेको स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।
ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै इरानले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनसम्म सम्झौता नगर्ने प्रयास गरिरहेको आरोप लगाएका थिए।
उनले इरानले रिपब्लिकन पार्टीले संसदीय निर्वाचन हार्ने आशा राखेको दाबी गर्दै अमेरिकी सर्त स्वीकार नगरे इरानलाई ध्वस्त पार्ने चेतावनीसमेत दिएका थिए।
अराघ्चीले भने इरान सम्झौता गर्न हतारमा नरहेको बताएका छन्।