• २०८३ असोज १२
  • 2026 September 28, Monday

अनुसन्धान क्षमताको विकास गर्न एमआईटीमा दुई अन्तर्राष्ट्रियस्तरीय कार्यशाला

काठमाडौं। नेपालमा अनुसन्धान संस्कृति प्रवर्द्धन तथा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अनुसन्धानसम्बन्धी दुई वटा पाँच दिने कार्यशाला सम्पन्न भएका छन्।

सक्ष्यम रिसर्च इन्स्टिच्युटको सहकार्यमा आयोजित ‘कजुअल इन्फरेन्स’ र ‘रिसर्च इन क्यापिटल मार्केट्स’ विषयक कार्यशालामा अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, प्राज्ञ तथा बैंकिङ र वित्त क्षेत्रका अधिकारीहरूको सहभागिता रहेको थियो।

अमेरिकास्थित बोस्टन युनिभर्सिटीको मेट्रोपोलिटन कलेजका फाइनान्स प्रोग्राम्स डाइरेक्टर प्रोफेसर डा. इरेना भोदेन्स्काको नेतृत्वमा ‘कजुअल इन्फरेन्स’ सम्बन्धी कार्यशाला १४ देखि १८ सेप्टेम्बर २०२६ सम्म एमआईटीको कमलादीस्थित परिसरमा सञ्चालन भएको थियो। बिहान ७ बजेदेखि ९:३० बजेसम्म सञ्चालन भएको उक्त कार्यशाला गहन अनुसन्धानमा संलग्न हुन चाहने तथा आधारभूत मात्रात्मक अनुसन्धानसम्बन्धी ज्ञान भएका अनुसन्धानकर्तालाई लक्षित गरिएको थियो।

कार्यशालामा अनुसन्धानका क्रममा कारण–परिणाम सम्बन्धबारे विश्वसनीय निष्कर्ष निकाल्न प्रयोग हुने विभिन्न अनुसन्धान विधिबारे सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो। बायस, म्याचिङ, डिफरेन्स-इन-डिफरेन्सेस, इन्स्ट्रुमेन्टल भेरिएबल्स, रिग्रेसन डिस्कन्टिन्युटी, र्‍यान्डमाइज्ड एक्सपेरिमेन्ट्स तथा न्याचुरल एक्सपेरिमेन्ट्सलगायतका विषयमा सहभागीलाई प्रयोगात्मक अभ्यास समेत गराइएको थियो।

फुलब्राइटको सहयोग तथा सक्ष्यम रिसर्च इन्स्टिच्युट र मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा उक्त कार्यशाला आयोजना गरिएको थियो।

यसैगरी, ‘रिसर्च इन क्यापिटल मार्केट्स’ शीर्षकको दोस्रो पाँचदिने कार्यशाला २१ देखि २५ सेप्टेम्बर २०२६ सम्म एमआईटी परिसरमा सञ्चालन भएको थियो। सक्ष्यम रिसर्च इन्स्टिच्युटले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीसँगको सहकार्यमा तथा युनाइटेड स्टेट्स एजुकेसन फाउन्डेसनको सहयोगमा आयोजना गरेको उक्त कार्यशाला पूँजी बजारसम्बन्धी अनुसन्धानका व्यावहारिक पक्षमा केन्द्रित थियो।

कार्यशालामा सहभागीलाई आधुनिक अनुसन्धान उपकरण तथा विधिबारे जानकारी गराउँदै मोडर्न पोर्टफोलियो थ्योरी, भ्यालु एट रिस्क (भिएआर) एन्ड स्ट्रेस टेस्टिङ, टेल रिस्क, फाइनान्सियल नेटवर्क्स एन्ड सिस्टेमिक रिस्क तथा न्युज एनालिटिक्स एन्ड इभेन्ट-ड्रिभन इन्भेस्टिङजस्ता समसामयिक विषयमा व्यावहारिक तथा अनुसन्धानमुखी छलफल र अभ्यास गराइएको थियो।

आयोजकका अनुसार दुवै कार्यशालामा सहभागीहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो। करिब ८० जनाको सहभागिता रहेको कार्यक्रममा अनुसन्धानमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबीच ज्ञान, सीप र अनुसन्धान अभ्यास आदानप्रदान गर्ने अवसरसमेत जुटेको थियो।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहसंस्थापक आर. के. दाहालले नेपालमा अनुसन्धानमा आधारित शैक्षिक वातावरण निर्माण तथा सुदृढ अनुसन्धान प्रणाली विकास गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धान संस्था तथा शैक्षिक साझेदारसँगको सहकार्यबाट नेपालमा उच्चस्तरीय अनुसन्धान क्षमता विकास गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रशिक्षक प्रोफेसर डा. इरेना भोदेन्स्का, युनाइटेड स्टेट्स एजुकेसन फाउन्डेसन (युएसईएफ), फुलब्राइट, सक्ष्यम रिसर्च इन्स्टिच्युट तथा सहभागीहरूप्रति आभार व्यक्त गरे।

संस्थाका अनुसार यस्ता अनुसन्धानमुखी कार्यक्रमले नेपालको उच्च शिक्षा क्षेत्रमा प्रमाणमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्नुका साथै विश्वस्तरीय अनुसन्धान विधि तथा अभ्यासलाई नेपाली अनुसन्धानकर्तामाझ विस्तार गर्न सहयोग पुर्‍याउनेछ।

दुई हप्तासम्म सञ्चालन भएको उक्त कार्यक्रम शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित प्यानल छलफल तथा प्रमाणपत्र वितरण समारोहसँगै औपचारिक रूपमा सम्पन्न भएको थियो।