• २०८३ असोज १८
  • 2026 October 04, Sunday

सातौँ नेपाल एआई स्कुल (ANAIS 2026) का लागि आवेदन खुला

काठमाडौँ। नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी ज्ञान, सीप र अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल एआई स्कुल’ (ANAIS) को सातौँ संस्करणका लागि आवेदन खुला गरिएको छ। Nepal Applied Mathematics and Informatics Institute for research (NAAMII/नामी) को आयोजनामा वि.सं. २०८३ पौष १३ देखि २३ गतेसम्म सूर्यविनायक, भक्तपुरस्थित काठमाडौँ वर्ल्ड स्कुलमा १० दिने गहन सिकाइ कार्यक्रम सञ्चालन हुने भएको हो।

यस वर्षको कार्यक्रममा नेपालसहित विश्वभरिबाट २०० भन्दा बढी सहभागी र २० भन्दा बढी अन्तर्राष्ट्रिय एआई विशेषज्ञहरूको सहभागिता रहनेछ। १० दिने आवासीय सिकाइ सत्रमा व्याख्यान (Lectures), ह्यान्ड्स-अन प्रयोगशाला (Hands-on Lab Sessions), ह्याकाथनका साथै एक दिने हाइकिङ कार्यक्रमसमेत समेटिएको छ।

प्रमुख विषय र विश्वविख्यात वक्ताहरू

यसपटकको ANAIS 2026 मा मेसिन लर्निङका आधारभूत अवधारणा, जियोमेट्रिक डीप लर्निङ (GDL), न्युरो–सिम्बोलिक एआई, वर्ल्ड मोडल्स, जेनेरेटिभ मोडलिङ तथा समाज र उद्योगमा एआईको प्रयोगजस्ता अत्याधुनिक विषयहरूमा केन्द्रित भई प्रशिक्षण दिइनेछ।

कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालय, स्ट्यानफोर्ड, फ्रिज युनिभर्सिटी एम्स्टर्डम, आईआईटी कानपुर, टीयू भियना, एनटीयू सिङ्गापुर, मिला – क्वेबेक एआई इन्स्टिच्युट र नामी जस्ता प्रतिष्ठित संस्थाका अनुसन्धानकर्ता तथा प्राध्यापकहरूले प्रशिक्षण दिनेछन्। प्रमुख वक्ताहरूमा प्रा. फ्र्याङ्क भान हार्मेलेन, प्रा. माइकल ब्रोन्स्टाइन, सह-प्रा. आशुतोष मोदी, डा. विशेष खनाल लगायतका अन्तर्राष्ट्रिय विशेषज्ञहरू रहेका छन्।

छात्रवृत्तिको विशेष व्यवस्था र आवेदनको समयसीमा

प्रतियोगितात्मक आधारमा छनोट गरिने सहभागीहरूका लागि सीमित संख्यामा छात्रवृत्तिको व्यवस्था गरिएको छ। छात्रवृत्तिमा महिला, सीमान्तकृत वर्ग र काठमाडौँ उपत्यका बाहिरका सहभागीहरूलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।

आवेदनका लागि तय गरिएको समयसीमा यस प्रकार छ:

अन्तर्राष्ट्रिय छात्रवृत्ति: २०८३ असोज २४ गते (१० अक्टोबर २०२६)

राष्ट्रिय छात्रवृत्ति: २०८३ कात्तिक १४ गते (३१ अक्टोबर २०२६)

सामान्य आवेदन: २०८३ कात्तिक २९ गते (१५ नोभेम्बर २०२६)

इच्छुक आवेदकहरूले NAAMII को आधिकारिक वेबसाइट (anais.naamii.org.np) मार्फत आवेदन दिन सक्नेछन् भने थप जानकारीका लागि anais@naamii.org.np मा सम्पर्क गर्न सकिनेछ। नामीले सन् २०१८ देखि निरन्तर रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत हालसम्म ४१ भन्दा बढी देशका ९२५ भन्दा बढी सहभागीहरू लाभान्वित भइसकेका छन्।