काठमाडौँ। ब्राजिलको राष्ट्रपतीय निर्वाचन पहिलो चरणबाटै टुंगो लाग्न नसकेपछि अब वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारोबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।
आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। ब्राजिलको सर्वोच्च निर्वाचन अदालतका अनुसार ९९.९९ प्रतिशत मतगणना हुँदा फ्लाभियोले ४७.०३ प्रतिशत र लुलाले ४५.१६ प्रतिशत वैध मत प्राप्त गरेका छन्।
कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि निर्वाचन दोस्रो चरणमा पुगेको हो।
दोस्रो चरणको मतदान अक्टोबर २५ मा हुनेछ। पहिलो चरणमा अन्य उम्मेदवारहरू प्रतिस्पर्धाबाट बाहिरिएपछि अब ब्राजिलियन मतदातासामु लुला र फ्लाभियोमध्ये एकलाई राष्ट्रपति चयन गर्ने विकल्प रहनेछ।
४५ वर्षीय फ्लाभियो बोल्सोनारो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा हुन्। जायर बोल्सोनारो सन् २०२२ को निर्वाचन परिणाम उल्ट्याउन खोजेको कू प्रयासमा दोषी ठहरिएपछि २७ वर्षको जेल सजाय भोगिरहेका छन्। उनले आफ्नो राजनीतिक उत्तराधिकारीका रूपमा फ्लाभियोलाई समर्थन गरेका थिए।
फ्लाभियोले पहिलो चरणमा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन्। निर्वाचनअघि सार्वजनिक भएका केही सर्वेक्षणमा लुला अगाडि देखिए पनि अन्तिम परिणाममा फ्लाभियो पहिलो स्थानमा आएका हुन्। उनको लिबरल पार्टीले संघीय संसद् तथा राज्यस्तरीय निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको रिपोर्टहरू आएका छन्।
पहिलो चरणको परिणामपछि फ्लाभियोले यसलाई आफ्नो राजनीतिक अभियानका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। उनले लुलाको वर्कर्स पार्टीको लामो राजनीतिक प्रभाव अन्त्य गर्ने र आफ्नो सरकारको अवधारणा अघि बढाउने बताएका छन्।
यता, लुलाले पहिलो चरणको परिणाम आफूले अपेक्षा नगरेको स्वीकार गरेका छन्। उनले पहिलो चरणमै जित्ने विश्वास गरेको भए पनि अब नयाँ चरणको अभियान सुरु हुने बताएका छन्। ८० वर्षीय लुला चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा छन्। उनले यसअघि सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल राष्ट्रपति र सन् २०२३ देखि पुनः राष्ट्रपति पद सम्हालिरहेका छन्।
यस निर्वाचनले ब्राजिलको घरेलु राजनीतिसँगै उसको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ। फ्लाभियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिक रूपमा नजिक देखिन्छन् भने लुलाले ब्राजिलको सार्वभौमिकता र बहुध्रुवीय अन्तर्राष्ट्रिय सम्बन्धलाई जोड दिँदै आएका छन्। त्यसैले दोस्रो चरणको परिणामले ब्राजिलको अमेरिका तथा अन्य प्रमुख शक्तिसँगको सम्बन्धको दिशामा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
निर्वाचन अभियानमा महँगी, भ्रष्टाचार, सार्वजनिक सुरक्षा, अपराध, आर्थिक नीति र राजनीतिक ध्रुवीकरण प्रमुख मुद्दा बनेका छन्। ब्राजिल पछिल्ला वर्षहरूमा तीव्र राजनीतिक विभाजनबाट गुज्रिरहेको अवस्थामा अक्टोबर २५ को दोस्रो चरणले देशको आगामी राजनीतिक दिशाको निर्धारण गर्नेछ।