• २०८३ असोज २१
  • 2026 October 07, Wednesday

मेस्सी, एक आप्रवासी जसले आफ्नो मातृभूमिलाई कहिल्यै बिर्सिएनन्

उनको वरिपरि सबै कुरा अस्तव्यस्त थियो। रातो जर्सी लगाएका खेलाडीहरू अव्यवस्थित भीडबीच दौडिरहेका थिए र खुसी तथा गौरवले एकअर्कालाई अँगालो हालिरहेका थिए।

आँसु र आक्रोशका कारण लियोनल मेस्सीका सहकर्मीहरूले खेल सकिएपछि खेलकुदको प्रतिस्पर्धालाई नै एउटा युद्धमा परिणत गरिदिए। रंगशालाको संगीत विजयी समर्थकहरूको खुसीका चिच्याहट र पराजित पक्षका गर्व तथा कृतज्ञताका गीतसँग मिसिएको थियो। मेस्सीको नजर भने आफ्ना देशवासीहरूले भरिएको दर्शकदीर्घातर्फ नै स्थिर थियो।

कतिपयले उनी रिसका कारण पुरस्कार वितरण समारोहमा सहभागी नभई फर्किएको दाबी गरे। तर वास्तविकता फरक थियो। अर्जेन्टिनाका स्टार मेस्सी प्रत्येक दृश्यलाई आफ्नो स्मृतिमा गहिरोसँग राख्न चाहिरहेका थिए- हरेक आवाज, हरेक अनुभूति सम्झन चाहिरहेका थिए। उनी त्यो क्षणलाई पूर्ण रूपमा आत्मसात् गर्न चाहन्थे, किनभने भविष्यमा यही दिनलाई अनगिन्तीपटक सम्झिँदा यी सबै सम्झनाहरू नै आधार बन्नेछन् भन्ने उनलाई थाहा थियो। २०२६ को विश्वकप फाइनल गुमाएकोमा उनी दुःखी थिए। उनी असह्य रूपमा रोइरहेका पनि थिए, किनभने अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि यो उनको अन्तिम खेल हुन सक्ने सम्भावनाबारे उनी पूर्ण रुपमा जानकार थिए।

मेस्सी एक आप्रवासी हुन्, जसले आफ्नो र आफ्नो परिवारका लागि राम्रो अवसर खोज्दै बाल्यकालमै आफ्नो मातृभूमि छाडे। हरेक दिन आफ्नो जन्मभूमि छाडेर जाने लाखौँ मानिसहरुको भिडमा उनी पनि एक थिए। र, धेरैजसो आप्रवासीजस्तै उनले पनि आफ्नो देशप्रतिको प्रेम कहिल्यै बिर्सेनन्। उनले अर्जेन्टिनाको सट्टा स्पेनबाट खेल्ने विकल्प रोज्न सक्थे, र सम्भवतः त्यसो गरेको भए उनले तीन वा चारवटा विश्वकप उपाधि जितिसकेका हुन्थे।

तर उनले कहिल्यै आफ्नो जरा अस्वीकार गरेनन्। उनको अपार प्रतिभाभन्दा बाहिर, विदेशी भूमिमा देखाएको उनको विनम्रता र सम्मान नै उनी विश्वभरका ल्याटिन अमेरिकीहरूका लागि आइकन बनिरहनुको मुख्य कारणमध्ये एक हो।

इतिहासकै महान् फुटबल खेलाडीले आफ्नो जीवनका पहिलो १३ वर्ष मात्र रोसारियोमा बिताए। उनको सुरुवाती कथा सबैलाई थाहा छ। उनलाई वृद्धि हर्मोनको कमी भएको पत्ता लागेको थियो। त्यसका लागि महँगो उपचार आवश्यक थियो, जुन उनको परिवारले धान्न सक्दैनथ्यो र स्थानीय क्लबले पनि खर्च बेहोर्न अस्वीकार गरेको थियो। त्यसपछि एफसी बार्सिलोनाले उनको उपचार खर्च बेहोर्ने जिम्मा लियो। अर्जेन्टिनाको आर्थिक अवस्था, त्यस क्षेत्रका धेरै अन्य देशको जस्तै, जटिल रहँदै आएको छ र धेरैपटक विमानस्थल नै अगाडि बढ्ने एक मात्र सम्भावित बाटो बन्ने गर्छ।

क्याटालान क्लबको युवा टोलीमा उनले तत्कालै आफूलाई अरूभन्दा फरक साबित गरे। त्यसपछि त्यतिबेला उनलाई दिइएको उपनाम ‘ला पुल्गा’ अर्थात् सानो फट्याङ्ग्रा, सहित मेसीलाई स्पेनको राष्ट्रिय टोलीबाट खेलाउने प्रयास सुरु भयो। तर उनी र उनको परिवारको आफ्नो जडसँगको सम्बन्ध निकै बलियो थियो। बाल्यकालमै एक अन्तर्वार्तामा उनले आफ्नो सपना अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्नु भएको बताएका थिए। अर्जेन्टिनाको फुटबल संघले पनि छिटो कदम चाल्दै मेस्सीलाई आफ्नो देशसँग स्थायी रूपमा जोड्न अन्डर-२० टोलीबाट डेब्यु गराउने उद्देश्यले एउटा मैत्रीपूर्ण खेल आयोजना गर्‍यो। यसरी उनको यात्रा सुरु भयो- २९ जुन २००४ मा, उनी १७ वर्ष पुगेको केही दिन लगत्तै ।

अर्जेन्टिनाका समर्थकहरू उनलाई राष्ट्रिय सिनियर टोलीबाट खेलिरहेको हेर्न आतुर थिए। त्यो क्षण १७ अगस्ट २००५ मा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलमा आयो। अचम्मको कुरा, दोस्रो हाफ सुरु भएको १९ मिनेटपछि मैदान प्रवेश गरेका मेस्सी केही सेकेन्डमै अन्यायपूर्ण रूपमा रातो कार्ड पाएर बाहिरिए। सायद यो संकेत थियो कि अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने उनको यात्रा सजिलो हुने थिएन।

आकाशे निलो र सेतो जर्सीमा मेस्सीको किंवदन्ती कति ठूलो छ भन्ने बुझ्न उनको विगतलाई छोटकरीमा हेर्नु आवश्यक हुन्छ। उनको यात्रा कुनै उत्कृष्ट फिल्मको कथामा देखाइने नायकको यात्रा जस्तै थियो- हिलोबाट ब्रह्माण्डसम्म। अर्जेन्टिनामा निराशा र हतासाले भरिएको समयमा उनको राष्ट्रिय टोलीमा डेब्यु भएको थियो।

देश राष्ट्रिय गौरव पुनःस्थापित गर्न नयाँ म्याराडोना खोज्ने निरन्तर प्रयासमा थियो। त्यसमाथि मेस्सी बायाँ खुट्टाले खेल्थे, १० नम्बरको जर्सी लगाउँथे र सबैलाई चकित पार्थे। त्यसैले म्याराडोनासँग उनको तुलना हुनु अपरिहार्य थियो, तर त्यो तुलना अन्यायपूर्ण पनि थियो र यसले उनको काँधमा ठूलो दबाब थप्यो।

बार्सिलोनासँग उनले लगभग सबै कुरा जितिरहेका बेला राष्ट्रिय टोलीसँगका उपाधिहरू भने उनको पहुँचबाहिर थिए। आफ्नै प्रिय देशमा उनीमाथिको आलोचना निकै कठोर थियो।

उनको जर्सीप्रतिको प्रेम, उनको व्यवहार- सबै कुरामाथि प्रश्न उठाइन्थ्यो। खेल सुरु हुनुअघि उनले राष्ट्रिय गान गाउँदैनन् भनेर पनि बारम्बार औँल्याइन्थ्यो। यो आलोचना त्यस्ता अत्यन्त प्रतिभाशाली मेस्सीमाथि गरिन्थ्यो, जसले संसारको अन्य कुनै ठाउँबाट खेल्दै सजिलो बाटो रोज्न सक्थे। तर उनले यी सबै आलोचनालाई शालीनतापूर्वक सहिरहे, आफ्नो संयम कायम राखे र उदाहरण प्रस्तुत गरे।

त्यसपछि आयो ब्राजिल २०१४। ‘घनिष्ठ शत्रु’को भूमिमा भएको विश्वकप। अर्जेन्टिना २४ वर्षपछि फाइनलमा पुगेको थियो। सबै कुरा पूर्ण देखिन्थ्यो। यो एउटा अन्तिम परी कथा बन्ने जस्तो थियो- तर जर्मनीको योजना अर्कै थियो।

त्यसपछि लगातार दुईवटा कोपा अमेरिका फाइनलमा चिलीविरुद्धको पीडादायी हारले पछ्याए। मेस्सी पूर्ण रूपमा निराश भए र हार मानेजस्तो गरे।

“मैले अब चारवटा फाइनल हारेँ। राष्ट्रिय टोलीसँग मेरो समय सकियो। चारवटा फाइनल। यो मेरो लागि होइन। दुर्भाग्यवश, मैले प्रयास गरेँ। मैले सबैभन्दा धेरै चाहेको यही थियो। यो मेरो पक्षमा भएन, तर मलाई लाग्छ अब यति नै हो,” मेसीले भनेका थिए।

तर साँचो च्याम्पियनजस्तै उनले आफ्नो निर्णयबारे पुनर्विचार गरे र राष्ट्रिय टोलीमा फर्किए।

त्यो समय उनको अन्तर्राष्ट्रिय करियरकै सबैभन्दा चूनौतीपूर्ण चरण थियो। लगातार फाइनल गुमाएपछि अर्जेन्टिना बल्लतल्ल रुस २०१८ का लागि छनोट भयो र त्यहाँ पनि उसको प्रदर्शन निकै खराब रह्यो। २०१९ मा उनले आफ्नो करियरकै सबैभन्दा प्रेरणादायी भनाइमध्ये एक दिएका थिए। फक्स स्पोर्ट्ससँग उनले आफू हार नमान्ने स्पष्ट पारे।

“म आफ्नो करियर अर्जेन्टिनाको राष्ट्रिय टोलीसँग केही जितेर अन्त्य गर्न चाहन्छु। यदि त्यसो हुन सकेन भने पनि, कम्तीमा हरेक सम्भव समयमा प्रयास गरेको हुन चाहन्छु। मलाई पछ्याउने बच्चाहरूका लागि यही सन्देश हो। फुटबलका लागि मात्र होइन, जीवनका लागि पनि। किनभने, जीवन भनेकै यही हो- लडखडाउनु, फेरि उठ्नु र फेरि प्रयास गर्नु। आफ्नो सपनाका लागि लड्नु,” मेसीको स्पष्ट सन्देश थियो।

अन्ततः २०२१ को ब्राजिलमा भएको कोपा अमेरिकामा उनको प्रयासले सफलता पायो। डेब्यु गरेको १६ वर्षपछि उनले पहिलो सिनियर उपाधि उचाले। त्यसपछि उनीमाथिको दबाब हट्यो र उनको प्रतिभाले कुनै बोझबिना स्वतन्त्र रूपमा खेल्ने अवसर पायो। कतार २०२२ मा मेस्सीले सबैभन्दा ठूलो पुरस्कार जिते- विश्वकप। त्यो क्षणसम्म पुग्न उनले गरेको कठिन यात्राले त्यो सफलता अझै मीठो बनायो। समर्थकहरू उनको संघर्ष, विनम्रता र आफ्नो देशप्रतिको अटल निष्ठाका कारण उनीसँग अझ नजिकिए।

३८ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेल्दै उनले फेरि निर्णायक भूमिका निर्वाह गरे। म्याराडोनासँगको तुलनामा सधैँ उठाइने एउटा प्रश्नको पनि उनले जवाफ दिए- उनले महान् प्रतिद्वन्द्वी इंग्ल्यान्डलाई शानदार प्रदर्शन गर्दै हराए। तर यसपटक उनको शरीरले उनलाई स्पेनविरुद्धको फाइनलमा सामान्यजस्तो तीव्र गतिमा खेल्न दिएन। र, पूर्ण अन्त्य सम्भव भएन। तर यो प्रतियोगितापछि मेस्सी नै सर्वकालीन महान् खेलाडी हुन् भन्ने विषयमा भने एकमत बन्यो।

मंगलबार बेनिनविरुद्धको खेलपछि राष्ट्रिय टोलीबाट कप्तानको अन्तिम अवकाश आउने कुरा कुनै आश्चर्य थिएन। उनका पिताको निधनले उनलाई गहिरो चोट दिएर गएको छ । उनको भावुक विदाइ सन्देशमा पनि त्यो पीडा देखिएको थियो।

“तिमीबिना म के गर्नेछु, मलाई थाहा छैन। कसरी अघि बढ्ने, मलाई थाहा छैन। मैले फुटबल मात्र खेलेँ र अब मलाई लामो समयसम्म यसलाई निरन्तरता दिनेछु भन्ने कुरामा गम्भीर शंका छ।”

त्यसमाथि मेस्सी ३९ वर्षका भइसकेका छन् र समयले उनलाई असर गर्न थालेको छ। तैपनि, यो विदाइ जति स्पष्ट र अपेक्षित थियो, त्यसले यसको पीडा कम भने गर्दैन।

जीवनमा केही अनुभव यस्ता हुन्छन्, जुन अद्वितीय हुन्छन् र फेरि दोहोरिँदैनन्। खेलप्रेमीहरूले माइकल जोर्डन, रोजर फेडेरर वा अन्य सर्वकालीक महान खेलाडीहरूलाई प्रत्यक्ष हेर्न पाउनु कस्तो सौभाग्य हो भन्ने बुझ्छन्। त्यो भनेको यो विशाल आकाशमा अरूभन्दा बढी चम्किलो, अनौठो रङ भएको एउटा उल्का तारा गुज्रिएको हेर्नुजस्तै हो- अद्वितीय र फेरि कहिल्यै दोहोरिन नसक्ने।

इन्टर मियामीसँग मेजर लिग सकरमा उनको प्रतिभा अझै हेर्न सकिन्छ। यद्यपि, उनले आफ्नो व्यावसायिक करियर अन्त्यतिर आइपुगेको संकेत धेरैपटक दिइसकेका छन्। निःसन्देह, एउटा युग समाप्त भएको छ- अर्जेन्टिनीहरूका लागि मात्र होइन, सबै फुटबलप्रेमीहरूका लागि।

आफ्नो विदाइ पोस्टको अन्त्यमा मेस्सीले लेखे, “मलाई अर्जेन्टिनी बनाएकोमा भगवानलाई धन्यवाद।”

आफ्नो देशप्रतिको प्रेम तपाईँ कहाँ बस्नुहुन्छ भन्ने कुरामा निर्भर हुँदैन। तपाईँ कहाँबाट आउनुभएको हो, त्यसमा निर्भर हुन्छ। र, मेस्सी अर्जेन्टिनी हुन्।

(सिएनएनबाट)