• २०८३ असोज २८
  • 2026 October 14, Wednesday

चाडपर्वको सुरक्षा व्यवस्थाबारे कैलालीका सुरक्षा निकायका प्रमुखसँग केपी खनालको छलफल

धनगढी। चाडपर्वको समयमा कैलाली जिल्लाको शान्ति सुरक्षा कायम गर्ने विषयमा माननीय केपी खनालले जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा अन्तरक्रिया गरेका छन्।

आज कैलालीको धनगढीमा भएको भेटघाट तथा छलफलमा विशेषगरी कैलाली क्षेत्र नम्बर २ सहित जिल्लाभर चाडपर्वका बेला हुन सक्ने चोरी, डकैती, लुटपाट तथा झैझगडाका घटनालाई नियन्त्रण गर्ने विषयमा कुराकानी भएको थियो।

छलफलका क्रममा चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गर्ने विषयमा जोड दिइएको थियो।

साथै, कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा कानुन कार्यान्वयन गर्न तथा जिल्लामा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।

चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन सुरक्षा निकाय र सरोकारवाला पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।