• २०८३ कात्तिक १
  • 2026 October 17, Saturday

युक्रेन युद्धलाई लिएर रुसमाथि दबाब बढाउने अमेरिकी कानुनमा ट्रम्पको रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि युद्ध गरेको भन्दै रुसलाई दण्डित गर्न अमेरिकी संसद्ले हालै पारित गरेको प्रतिबन्धसम्बन्धी कानुनका केही प्रावधान कार्यान्वयन हुन नदिने निर्णय गरेका छन्।

शुक्रबार राति जारी कार्यकारी आदेशमार्फत ट्रम्पले केही प्रतिबन्ध रोक्नु अमेरिकाको ‘राष्ट्रिय हित’मा रहेको बताएका छन्। ट्रम्पले गत सेप्टेम्बरमा उक्त प्रतिबन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका थिए। कानुन अक्टोबर १८ देखि लागू हुने तय थियो।

रुसबाट डिजेल आयात गर्ने योजना सार्वजनिक गरेको केही दिनमै ट्रम्पले प्रतिबन्धमा छुट दिने निर्णय गरेका हुन्। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि ऊर्जा मूल्य घटाउने उद्देश्यले रुसबाट डिजेल किन्ने तयारी भइरहेको ट्रम्पको भनाइ छ। उक्त निर्वाचनले अमेरिकी संसद्‌को दुवै सदनमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ।

ट्रम्पको यो योजनाले अमेरिकी सांसदहरूलाई आश्चर्यचकित बनाएको छ। यसप्रति डेमोक्रेटिक र रिपब्लिकन दुवै दलका सांसदले विरोध जनाएका छन्।

रुसमाथि प्रतिबन्ध लगाउने नयाँ अमेरिकी कानुनको नाम दिवंगत रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको नाममा राखिएको छ। दक्षिण क्यारोलिनाका पूर्वसिनेटर ग्राहमको गत जुलाई ११ मा निधन भएको थियो। उनी वासिङ्टनमा युक्रेनका दृढ समर्थकमध्ये एक थिए।

उक्त कानुनले रुसको अर्थतन्त्रलाई लक्षित गर्दै रुसी तेल तथा ग्यासका प्रमुख पाँच खरिदकर्तामाथि १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिएको छ। यसबाट विशेषगरी चीन र भारत प्रभावित हुन सक्नेछन्।

कानुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, रुसी सरकारका उच्च अधिकारी, बैंक तथा अन्य वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउने व्यवस्था पनि समेटिएको छ।

त्यस्तै, विद्यमान प्रतिबन्ध छल्न प्रयोग हुँदै आएको रुसी तेल बोक्ने ट्यांकरहरूको ‘छाया जहाज बेडा’ (स्याडो फ्लीट) लाई पनि निशाना बनाइएको छ।

बिहीबार अमेरिकी संसद्का दुवै दलका २० सांसदले ट्रम्पलाई नयाँ कानुनको सम्मान गर्दै पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए।

उनीहरूले प्रतिबन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गरेकोमा ट्रम्पलाई धन्यवाद दिँदै कानुनको ‘पूर्ण र इमानदार कार्यान्वयन’ गर्न आह्वान गरेका थिए।

सांसदहरूले प्रतिबन्धलाई पुटिनलाई शान्ति वार्ताप्रति गम्भीर बनाउन निर्णायक कदमका रूपमा व्याख्या गरेका छन्।

उनीहरूले ट्रम्प प्रशासनलाई ग्राहमको नाममा रहेको कानुनअन्तर्गतका प्रतिबन्ध ‘पूर्ण रूपमा र ढिलाइ नगरी’ लागू गर्न आग्रह गरेका थिए।

तर ट्रम्पको पछिल्लो निर्णयले रुसमाथि दबाब बढाउनुपर्ने पक्षधरहरूलाई निराश बनाएको छ।

अमेरिकाको भर्जिनिया राज्यका डेमोक्रेटिक सांसद डन बेयरले ट्रम्पको निर्णयको आलोचना गर्दै उनले मस्कोसामु घुँडा टेकेको र युक्रेन तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई साथ छाडेको आरोप लगाएका छन्।

बेयरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “पुटिनसमक्ष ट्रम्पको पछिल्लो आत्मसमर्पणले फेरि हाम्रा युक्रेनी साझेदारलाई धोका दिएको छ र रुसको गैरकानुनी आक्रामक युद्धलाई दण्डित गर्न बनाइएको कानुनप्रति संसद्को स्पष्ट मनसायको अवहेलना गरेको छ।”

अक्टोबर ९ मा ट्रम्पले पुटिनसँग टेलिफोन वार्ता गरेको र मस्कोबाट डिजेल खरिद गर्न सहमति जनाएको घोषणा गरेका थिए।

फेब्रुअरीमा इरानसँग युद्ध सुरु भएयता अमेरिकामा इन्धन, विशेषगरी डिजेलको मूल्य तीव्र रूपमा बढेको समाचारमा उल्लेख छ। जीवनयापनको बढ्दो लागतका कारण आर्थिक दबाबमा रहेका अमेरिकी मतदातामाथि यसले थप भार पारेको छ।

नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य घटाउने ट्रम्पको प्रयासका रूपमा रुसबाट डिजेल किन्ने योजनालाई हेरिएको छ।

तर अमेरिकाका सहयोगी मुलुकहरूले भने यस सम्झौताप्रति चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, युक्रेनका प्रमुख युरोपेली सहयोगी बेलायत, फ्रान्स र जर्मनीका सयौँ सैनिक आगामी महिना पोल्यान्डमा हुने ठूलो सैन्य अभ्यासमा सहभागी हुनेछन्। रुससँगको युद्धका बीच युक्रेनलाई समर्थन गर्दै आएका युरोपेली मुलुकहरूको यो सैन्य गतिविधिलाई पनि क्षेत्रीय सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।