• २०८३ कात्तिक २
  • 2026 October 18, Sunday

फ्रान्समा प्रदर्शन उग्र बन्दा सरकारी भवनमा आगजनी र लुटपाट, १२०० पक्राउ

फ्रान्समा बढ्दो महँगी, शिक्षा क्षेत्रमा देखिएको संकट र सरकारको निष्क्रियताविरुद्ध शनिबार भएको विशाल प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा राजधानी पेरिससहित देशका विभिन्न सहरमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन् । घटनामा १२०० भन्दा बढी मानिस पक्राउ परेका छन् भने १५० प्रहरी घाइते भएको प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले बताएका छन् ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर करिब पाँच लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए । राजधानी पेरिसमा मात्रै एक लाख १० हजार प्रदर्शनकारी सडकमा उत्रिएको गृह मन्त्रालयको अनुमान छ । आयोजकहरूले भने प्रदर्शनमा सहभागी हुनेको संख्या सरकारी आँकडाभन्दा बढी रहेको दाबी गरेका छन् ।

सुरुमा शान्तिपूर्ण देखिएको प्रदर्शन साँझ पर्दै जाँदा हिंसात्मक बनेको थियो । पेरिसमा प्रदर्शनकारीका केही समूहले सडकमा आगो लगाउनुका साथै सवारीसाधन जलाएका थिए । पसलहरूमा लुटपाट भएको थियो भने कम्तीमा एउटा रेस्टुरेन्ट आगलागीबाट क्षतिग्रस्त भएको छ । राजधानीको चर्चित प्लास द ला रिपुब्लिक क्षेत्रमा समेत सवारीसाधनमा आगजनी भएको थियो ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच साँझसम्म झडप जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनको प्रभाव राजधानी पेरिसमा मात्र सीमित रहेन । मध्य फ्रान्सको लिमोज सहरस्थित ऐतिहासिक नगर भवनमा आगलागी हुँदा भवनको छानाको केही भाग खसेको छ । आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू परिचालन गरिए पनि भवनमा ठूलो क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

लियोँ सहरमा प्रदर्शनकारीले पर्यटक सूचना केन्द्रमा आगजनी गरेका थिए । सहरका मेयर ग्रेगोरी दुस्ले ऐतिहासिक भवनमा भएको आगलागीलाई सहरका लागि दुःखद घटना भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थानीय प्रहरीका अनुसार केही व्यक्तिले अग्निनियन्त्रकहरूलाई सुरक्षित रूपमा आगो निभाउन अवरोध गरेका थिए ।

मार्सेईमा प्रदर्शनकारीले नगर भवनमा प्रवेश गरी तोडफोड गरेका थिए । त्यस्तै, ग्रेनोबल, अविन्योन, पाउ, मोन्टपेलिए र भालेन्सलगायत सहरमा पनि सरकारी तथा व्यावसायिक भवनमा क्षति पुगेको छ । राजधानी पेरिसमा कपडा तथा खाद्यान्न पसलहरू लुटिएका छन् भने लिल सहरस्थित एप्पलको एउटा पसलमा समेत तोडफोड र लुटपाट भएको छ ।

दक्षिणपूर्वी फ्रान्सको सेन्ट–एटिएन सहरमा प्रदर्शनका क्रममा ग्रिनेड विस्फोट हुँदा एक युवकको हात उडेको सहरका मेयर रेजिस जुआनिकोले बताएका छन् । यसअघि पनि विद्यार्थी प्रदर्शनका क्रममा लेन्स सहरमा एक विद्यार्थीले ग्रिनेड उठाउने क्रममा हात गुमाएका थिए । त्यस घटनापछि प्रहरीले प्रयोग गर्ने एक प्रकारको स्टन ग्रिनेडमाथि अस्थायी प्रतिबन्ध लगाइएको थियो । तर, उक्त प्रतिबन्ध पछि हटाइएको छ ।

फ्रान्समा पछिल्ला केही सातादेखि विद्यार्थीहरूले माध्यमिक विद्यालयमा कर्मचारी अभाव, जीर्ण भौतिक संरचना र कमजोर शैक्षिक सुविधाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । बढ्दो जीवनयापन खर्च र सरकारले नागरिकका समस्याप्रति पर्याप्त ध्यान नदिएको आरोपले पनि आन्दोलनलाई थप बल दिएको छ ।

शनिबारको प्रदर्शनमा विद्यार्थीका अतिरिक्त ट्रेड युनियनका सदस्य तथा विभिन्न राजनीतिक र सामाजिक समूह सहभागी भएका थिए । सन् २०१८ देखि महँगीविरुद्ध आन्दोलन गर्दै आएको ‘यल्लो भेस्ट’ आन्दोलनसँग आबद्ध समूहसमेत प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनकारीहरूले आर्थिक असमानता, सम्पत्ति र शक्तिको केन्द्रीकरण तथा लोकतान्त्रिक प्रक्रियामा आएको कमजोरीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सरकारबाट सामाजिक तथा राजनीतिक परिवर्तनका लागि ठोस कदम नचालिएको आरोप लगाएका छन् ।

पेरिसमा प्रदर्शनमा सहभागी एक युवतीले आफूहरू परिवर्तन चाहने शान्तिपूर्ण प्रदर्शनकारी भएको बताएकी थिइन् । तर, दिन ढल्दै जाँदा केही समूहले हिंसात्मक गतिविधि सुरु गरेपछि प्रदर्शनको स्वरूप बदलिएको थियो ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य बताएका छन् । उनले प्रहरीमाथि अत्यन्त तीव्र हिंसा भएको उल्लेख गर्दै केही समूहले आगामी राष्ट्रपति निर्वाचनलाई लक्षित गरी राजनीतिक वातावरण तताउन खोजेको आरोप लगाए ।

‘हिंसाका माध्यमबाट कसैले पनि आफ्नो राजनीतिक एजेन्डा लागू गर्न पाउनेछैन,’ उनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोंले सरकारी कार्यालय, प्रहरी प्रशासनका भवन र व्यावसायिक प्रतिष्ठानमा आक्रमण गर्ने तथा नगर भवनमा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । उनले शान्तिपूर्ण प्रदर्शनमा अवरोध सिर्जना गर्ने र अराजकता फैलाउने समूहको आलोचना गरेका छन् ।

यता, प्रदर्शनका क्रममा प्रहरीको भूमिकामाथि पनि प्रश्न उठेको छ । यसै साता एक १४ वर्षीय बालकको प्रहरी कारबाहीका क्रममा जबडा भाँचिएको थियो । त्यस्तै, अलान्सोँ क्षेत्रमा प्रहरीले एक किशोरीलाई घाँटीमा समातेर नियन्त्रणमा लिएको दृश्य सार्वजनिक भएपछि प्रहरीको बल प्रयोगबारे आलोचना भएको छ ।

वामपन्थी नेता जिन–लुक मेलोँशोँले प्रदर्शनमा प्रहरीको व्यवहारको आलोचना गर्दै प्रहरी प्रदर्शनकारीमाथि जाइलागेको आरोप लगाएका छन् । यद्यपि, उनले लुटपाट र आगजनीको पनि निन्दा गरेका छन् । प्रधानमन्त्री लेकोर्नुले भने उनको अभिव्यक्तिलाई ‘खतरनाक र अवसरवादी’ भन्दै आलोचना गरेका छन् ।

दक्षिणपन्थी नेता मरिन ले पेनले प्रदर्शनकारीका जायज मागलाई अतिवामपन्थी समूहले आफ्नो नियन्त्रणमा लिएको आरोप लगाएकी छन् ।

फ्रान्समा आगामी वर्ष राष्ट्रपति म्याक्रोंको कार्यकाल समाप्त हुँदैछ । आगामी अप्रिलमा हुने राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक अनिश्चितता बढिरहेका बेला भएको यो प्रदर्शनले देशको राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ । निर्वाचनमा नेसनल र्‍यालीकी नेता मरिन ले पेन र अतिवामपन्थी दल ला फ्रान्स इन्सुमिजका नेता मेलोँशोँबीच प्रतिस्पर्धा हुन सक्ने विभिन्न सर्वेक्षणले संकेत गरेका छन् ।