काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटिभी विश्व शिखर सम्मेलन २०२६ मा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्ने विषयमा सम्बोधन गरेका छन् ।
नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित सम्मेलनमा अर्थमन्त्री वाग्लेले ‘निकटतामार्फत समृद्धि : भारत–नेपाल अवसर’ विषयक विशेष सत्रमा अतिथि वक्ताका रूपमा सम्बोधन गरेका हुन् ।
वाग्लेले नेपालमा विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै विपद् व्यवस्थापन, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यलाई संस्थागत गर्नुपर्ने बताएका छन् । वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग प्रत्यक्ष संवाद गर्दै नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाका साझा हितबारे छलफल गरेका थिए ।
संवादका क्रममा वाग्लेले नेपालमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको जलवायु परिवर्तनबाट प्रभावित विपद् तथा सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको स्मरण गरे । उनले दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारतले सहयोग उपलब्ध गराएको उल्लेख गर्दै नेपाल भारतप्रति आभारी रहेको बताए ।
‘नेपालको मन्त्रीका रूपमा म भन्न सक्छु, रसुवा भोटेकोशीको हालैको विपद् र सन् २०१५ को भूकम्पमा भारतबाट असाधारण सहयोग प्राप्त भएको थियो। दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारत सहयोगका लागि उपस्थित भएको थियो,’ वाग्लेले भने ।
उनले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा भारत र नेपालबीच मात्र नभई त्रिपक्षीय तथा उपक्षेत्रीय तहमा समेत सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे प्रश्न उठाएका थिए ।
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले सम्भव भएका क्षेत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता औपचारिक संस्थागत संयन्त्रको महत्त्व रहेको बताए । तर, पछिल्लो समय समान सोच भएका देशबीच आवश्यकताअनुसार सहकार्य गर्ने र ठोस नतिजामा केन्द्रित हुने अभ्यास बढिरहेको उनको भनाइ थियो ।
यसअघि बिहीबार साँझ अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको सत्रमा सहभागिता जनाएका थिए । त्यसक्रममा उनले प्रधानमन्त्री मोदीसँग संक्षिप्त भेटघाट तथा कुराकानीसमेत गरेका थिए ।
उनी सम्मेलनमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका थिए ।