काठमाडौं । वरिष्ठ मौसमविद् विभूति पोखरेलले आज र भोलि नेपालको मौसम सामान्यतया सफा रहने बताएकी छन् । उनले बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा प्रभाव पर्न सक्ने देखिएको बताइन् ।
पोखरेलका अनुसार अर्नब चक्रवात हाल बंगालको खाडीमा अति शक्तिशाली चक्रवाती आँधीका रूपमा रहेको छ । उक्त चक्रवात भोलिसम्म भारतको विशाखापट्टनम आसपास जमिनमा प्रवेश गर्ने सम्भावना रहेको छ । जमिनमा प्रवेश गरेपछि भने यो पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने पूर्वानुमान गरिएको छ ।
उनले भनिन्, ‘आज र भोलिलाई मौसम सामान्यतया सफा नै छ । अर्नब चक्रवात बङ्गालको खाडीमा रहेको छ । भेरी सिभियर साइक्लोनिक स्ट्रोम धेरै शक्तिशाली चक्रवातको रुपमा बङ्गालको खाडीमा छ, यो जमिनमा विशाखापट्टनममा ल्यान्डफल जमिनमा आउन सक्ने देखिएको छ । जमिनमा आइसकेपछि विस्तारै पश्चिम उत्तर पश्चिमतिर लाग्ने देखिएको छ ।’
क्षेत्रीय विशेष मौसम केन्द्रबाट जारी चक्रवातको मार्गअनुसार नेपाल नजिक आइपुग्दा यसको शक्ति निकै कमजोर हुने र न्यून चापीय क्षेत्र वा चक्रवातीका रूपमा प्रभाव पार्न सक्ने मौसमविद् पोखरेलले बताइन् ।
चक्रवातको सम्भावित मार्ग नेपाल आसपास देखिएकाले सतर्कता अपनाउनु पर्ने उनले बताइन् ।
यसैलाई ध्यानमा राखेर मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबारका लागि चेतावनी जारी गरेको छ । महाशाखाले यसअघि नै विशेष मौसम बुलेटिनसमेत जारी गरिसकेको छ ।
पछिल्लो मौसम विवरणअनुसार चक्रवातको तीव्रतामा केही कमी आएको भए पनि उच्च हिमाली क्षेत्रमा सतर्कता अझै आवश्यक रहेको पोखरेलले बताइन् ।
चक्रवातको प्रभावका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । विशेषगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो र हिमआँधीको जोखिम रहेको उनले बताइन् ।
यतिबेला धान काट्ने मौसमसमेत भएकाले मध्यम वर्षाले समेत कृषि क्षेत्रमा असर पार्न सक्ने भन्दै मौसमविद्ले किसानलाई समयमै धान भित्र्याउन आग्रह गरिन् । विशेषगरी बिहीबारअघि नै धान काट्ने तथा सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।
त्यस्तै, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पदयात्रामा रहेका पर्यटक तथा अन्य व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । उच्च क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न वा सम्भव भएसम्म तल्लो क्षेत्रमा झर्नसमेत अनुरोध गरिएको छ ।