• २०८३ कात्तिक १२
  • 2026 October 28, Wednesday

इजरायलमा मत गणना शुरु, सर्वेक्षणमा अरब दल निर्णायक हुने संकेत

काठमाडौँ । इजरायलको संसदीय निर्वाचनपछि मतगणना शुरु भएको छ ।

यस निर्वाचनमा ७७.७ प्रतिशत मत खसेको निर्वाचन अधिकारीहरूले बताएका छन् । सन् १९९९ यताकै उच्च मतदान प्रतिशत भएको जनाइएको छ ।

मतदान सकिएपछि सार्वजनिक भएका मत सर्वेक्षणले गादी आइसेनकोट नेतृत्वको गठबन्धन सबैभन्दा ठूलो समूहका रूपमा देखिए पनि सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने संकेत गरेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी भने संसद्मा सबैभन्दा ठूलो एकल दल बन्ने अनुमान गरिएको छ ।

प्रारम्भिक सर्वेक्षणमा नेतान्याहु र आइसेनकोट नेतृत्वका गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ । केही सर्वेक्षणले दुवै पक्षले ५१ सिट पाउने अनुमान गरेका छन् भने अर्को सर्वेक्षणले नेतान्याहुको गठबन्धनलाई ५२ र आइसेनकोट पक्षलाई ५० सिट दिएको छ । इजरायली संसद्मा बहुमतका लागि १२० मध्ये कम्तीमा ६१ सिट आवश्यक पर्छ । त्यसैले अन्तिम नतिजापछि सरकार गठन गर्न दुवै पक्षलाई अन्य दलको समर्थन जुटाउनुपर्ने देखिएको छ ।

यस निर्वाचनमा अरब समुदायको प्रतिनिधित्व गर्ने दलहरूले अहिलेसम्मकै बढी सिट जित्ने संकेत देखिएको छ । संयुक्त अरब सूची र संयुक्त सूचीले गरी १९ सिटसम्म प्राप्त गर्न सक्ने अनुमान गरिएको छ । अरब मतदाताको उल्लेख्य सहभागिताले निर्वाचनको परिणाममा प्रभाव पारेको विश्लेषण गरिएको छ । यसअघि सरकार गठनमा अरब दललाई समावेश गर्न मुख्य दलहरू अनिच्छुक देखिए पनि यसपटकको कडा प्रतिस्पर्धाले उनीहरूको समर्थन निर्णायक बन्न सक्ने सम्भावना छ ।

त्यस्तै, अहिले मतगणना शुरु भएको बताइएको छ ।