काठमाडौं । प्रहरीले शुक्रबार काठमाडौंका तीन सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारको खोजी तथा नियन्त्रणको प्रक्रिया अघि बढाएको छ। नयाँ बानेश्वरस्थित नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्याइएको छ भने नयाँ पत्रिका दैनिक र दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी टोली पुगेको छ।
नेपाल प्रेसमा सादा पोसाकमा आएका दुई प्रहरीले सुवेदीलाई कार्यकक्षबाटै लिएर गएका हुन्। उनी नेपाल प्रेसमा कार्यरत थिए। प्रहरी टोलीले छलफलका लागि जानुपर्ने भन्दै उनलाई कार्यालयबाट बाहिर लगेको हुन्।
साइबर ब्युरेका एसपी दीपकराज अवस्थीले सुवेदीसहित केही व्यक्तिसँग सोधपुछ गर्नुपर्ने भएकाले ब्युरो ल्याइएको बताएका छन्। उनका अनुसार प्रहरी महानिरीक्षकसँग सम्बन्धित समाचार र शान्ति सुरक्षाको विषयमा बुझ्न उनलाई बोलाइएको हो। यता, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले साइबर ब्युरोको अनुरोध अनुसार सुवेदीलाई उपस्थित गराउने प्रक्रिया अघि बढाइएको बताएका छन्।
यसैबीच, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोसाकमा आएका ७ जनाको प्रहरी टोली पुगेको छ। उनीहरूले अपराध अनुसन्धान कार्यालयबाट आएको बताउँदै सुरक्षा तथा अपराधसम्बन्धी समाचार लेख्ने संवाददाता नवराज मैनालीलाई खोजेका थिए। मैनाली कार्यालयमा नभेटिएपछि प्रहरी टोलीले उनलाई साइबर ब्युरोमा उपस्थित गराउनुपर्ने बताउँदै त्यहीँ कुरेर बसेका छन्।
त्यस्तै, अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको छ। त्यहाँ सादा पोसाकमा आएका प्रहरीले प्रधान सम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाबारे खोजी गरेका थिए। कार्यालयमा प्रहरी पुगेको जानकारी त्यहाँ कार्यरत पत्रकारले दिएका छन्। दियो पोस्टले प्रधानन्यायाधीशसँग सम्बन्धित समाचार प्रकाशित गरेपछि आफूहरूलाई धम्की आएको विषयमा यसअघि समाचार प्रकाशित गरेको थियो। उक्त कार्यालयमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेर फर्किएको जनाइएको छ।