१५ वर्षीया हदिजा कोदो कुट्दै गर्दा अंग्रेजी वर्णमाला गुनगुनाउँछिन्। यसले उनलाई आफूले निकै सम्झिरहेको एउटा कुरा याद दिलाउँछ- विद्यालय जान पाउनु।
उनी भन्छिन्, “कहिलेकाहीँ म अभ्यास गर्न र अझै सही तरिकाले लेख्न सक्छु कि सक्दिनँ भनेर जाँच्न भुइँमा लेख्ने गर्छु।”
करिब दुई वर्षअघि एक रात हतियारधारी समूहले उनको गाउँमा आक्रमण गरेको थियो।
उनी भन्छिन्, “उनीहरूले हाम्रा गाईवस्तुलाई तितरबितर पारे र एउटी केटीलाई अपहरण गरे। हामीले गाउँ छोडेर भाग्नुपर्यो। यहाँसम्म आइपुग्दा हामी पूरै बाटो खाली खुट्टा हिँडेका थियौँ।”
त्यसयता उनी आफ्नो घरबाट केही किलोमिटर टाढा रहेको गोरोन्योस्थित विस्थापित व्यक्तिहरूको शिविरमा बस्दै आएकी छन्। केही समय उनले त्यहीँ विद्यालय पनि पढिन्। तर, त्यसपछि एक युवकसँग चिनजान भयो र १३ वर्षको उमेरमै पढाइ छोडेर विवाह गरिन्।
उनी भन्छिन्, “यहाँको परम्पराअनुसार केटीको विवाह भएपछि उसको पढाइ पनि समाप्त हुन्छ।”
अहिले उनी श्रीमानको परिवारसँग बस्छिन् र घरायसी काममा सघाउँछिन्।
नाइजेरियाको कानुनले १८ वर्षभन्दा कम उमेरमा विवाह गर्न निषेध गरेको भए पनि यो कानुन सधैँ कार्यान्वयन हुने गरेको छैन।
सन् २०२४ मा युनेस्कोले सार्वजनिक गरेको अनुमान अनुसार हदिजा नाइजेरियामा शिक्षाबाट वञ्चित करिब एक करोड ९० लाख बालबालिकामध्ये एक हुन्। यो संख्या देशका विद्यालय जाने उमेरका कुल बालबालिकाको करिब एक चौथाइ हो।
यस्तो अवस्थालाई ध्यानमा राख्दै बीबीसी वर्ल्ड सर्भिसले उत्तरी नाइजेरिया, छिमेकी देश नाइजर, क्यामरुन तथा पश्चिम अफ्रिकाका अन्य क्षेत्रमा बोलिने प्रमुख भाषा हाउसा भाषामा ‘दर्स हाउसा’ नामक शैक्षिक कार्यक्रम सुरु गरेको छ।
यस कार्यक्रममार्फत सामाजिक सञ्जाल, स्थानीय टेलिभिजनसँगको सहकार्य र रेडियोबाट पश्चिम अफ्रिकाका बालबालिकालाई अंग्रेजी, गणित र विज्ञानका पाठ पढाइन्छ। परोपकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार उक्त क्षेत्रका धेरै मानिस रेडियोबाट समाचार सुन्छन् र नाइजेरियाका झन्डै आधा घरपरिवारमा रेडियो छ।
पास्तो र दारी भाषामा ‘दर्स’ को अर्थ ‘पाठ’ हुन्छ। सन् २०२३ मा विद्यालय जान प्रतिबन्ध लगाइएका अफगानिस्तानका बालबालिकाका लागि यी दुई भाषामा पहिलोपटक यो कार्यक्रम सुरु गरिएको थियो। त्यसपछि सन् २०२५ को फेब्रुअरीमा यसको अरबी संस्करण पनि सुरु भयो।
नाइजेरियामा यति धेरै बालबालिका विद्यालयबाहिर रहनुका कारण धेरै र जटिल छन्। हदिजाजस्तै १२ वर्षीया रुकैय्या पनि गोरोन्योको विस्थापित शिविरमा बस्छिन्।
उनी भन्छिन्, “अरू बालबालिका पढिरहेको र विद्यालय गइरहेको देख्दा आफू जान नपाउँदा मलाई निकै दुःख लाग्छ।”
परिवारकी जेठी सन्तान भएकाले रुकैय्या हरेक दिन दाउरा संकलन गरेर बेच्न र माग्न बाहिर जान्छिन्, ताकि उनका साना भाइबहिनीले खान पाऊन्।
उनी भन्छिन्, “यदि मेरा पिता जीवित हुनुहुन्थ्यो भने मैले बाहिर गएर माग्नुपर्ने थिएन।” केही मानिसले आफूलाई जिस्क्याउने गरेको बताउँदै उनी भन्छिन्, “तर यसले मलाई रोक्दैन, किनभने बाँच्नका लागि हामीसँग यही एउटा उपाय छ।”
करिब एक वर्षअघि हतियारधारी लुटेरा समूहले आफ्नै अगाडि पिताको हत्या गरेको र त्यसपछि परिवारले घर छोडेर शिविरमा शरण लिनुपरेको रुकैय्या बताउँछिन्।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार हतियारधारी लुटपाट र अपहरणका घटनाका कारण नाइजेरियाको उत्तर-पश्चिमी र मध्य क्षेत्रमा ६ लाख ७० हजार मानिस घरबार छोड्न बाध्य भएका छन्। हदिजा र रुकैय्या पनि उनीहरूमध्ये पर्छन्।
केही आक्रमण उग्रवादी इस्लामिक समूहले गरेका छन्। तर, यस क्षेत्रमा अधिकांश आक्रमण चोरी, हत्या र अपहरणमा संलग्न आपराधिक गिरोहले गर्ने गरेका छन्। नाइजेरियामा यस्ता समूहलाई ‘ब्यान्डिट’ भनिन्छ।
हदिजाले पहिले पढ्ने गरेको गोरोन्योको विद्यालय नै विस्थापित शिविरका बालबालिकाका लागि एकमात्र विद्यालय हो। त्यहाँ प्रत्येक कक्षामा सामान्यतया करिब ५० जना विद्यार्थी हुन्छन्।
विद्यालयका शिक्षक कामिलु सुलेमान जकाडाका अनुसार पढाइ निःशुल्क भए पनि निकै कम बालबालिका मात्र विद्यालय आउँछन्। आउनेहरू पनि नियमित हुँदैनन्। अभिभावकहरूले आफ्ना बालबालिका नै परिवारको आम्दानीको मुख्य स्रोत भएको र खानका लागि पैसा कमाउनुपर्ने बताउने गरेको उनी सुनाउँछन्।
शिक्षक कामिलु सुलेमान जकाडाका अनुसार हतियारधारी गिरोह, गरिबी र आर्थिक स्रोतको अभावले बालबालिकाको शिक्षामा ठूलो असर पारेको छ।
उनका अनुसार विद्यालयमा पर्याप्त शिक्षक र कक्षाकोठा छैनन्। आर्थिक सहयोग पनि नियमित रूपमा प्राप्त हुँदैन। प्रायः सरकारको सट्टा व्यक्ति वा विभिन्न संस्थाले सहयोग गर्ने गरेका छन्।
अर्को चुनौती ब्यान्डिट समूह हुन्। एकपटक मोटरसाइकलमा आएका हतियारधारी समूहले विद्यालयबाहिर हावामा गोली चलाएको शिक्षक जकाडा बताउँछन्। उक्त घटनामा कसैलाई चोट नलागे पनि धेरै अभिभावक डराए र आफ्ना बालबालिकालाई विद्यालयबाट निकालेर लगे। देशका अन्य केही क्षेत्रमा भएका आक्रमणपछि पनि अभिभावकले यस्तै प्रतिक्रिया देखाएका छन्।
नाइजेरियाका प्रत्येक बालबालिकाले नौ वर्षसम्म निःशुल्क र अनिवार्य शिक्षा पाउनुपर्ने व्यवस्था छ। यसमा प्राथमिक तहका छ वर्ष र माध्यमिक तहका तीन वर्ष समावेश छन्। शिक्षाको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकारबीच बाँडिएको छ।
तर, धेरै विद्यालयमा आवश्यक स्रोतसाधनको अभाव छ। निजी विद्यालयको खर्च धान्न नसक्ने गरिब परिवारलाई विद्यालय पोसाक, किताब र यातायातको खर्च जुटाउनसमेत कठिन हुने गरेको छ।
यो शैक्षिक संकट दशकौँदेखि बढ्दै आएको हो। लगातारका सरकारहरूले शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न र स्रोतसाधनको उचित व्यवस्थापन तथा निगरानी गर्न सकेका छैनन्।
यसका साथै, इस्लामिक शिक्षा प्रदान गर्ने परम्परागत ‘अल्माजिरी’ प्रणालीमा रहेका धेरै बालबालिकालाई गणित र विज्ञानजस्ता विषय पढाइँदैन। त्यसैले युनिसेफले उनीहरूलाई विद्यालयबाहिर रहेका बालबालिकाको सूचीमा राखेको छ।
शिक्षा राज्यमन्त्री प्राध्यापक सुवाइबा सइद भने विद्यालयबाहिर रहेका बालबालिकाको संख्या सार्वजनिक तथ्यांकमा उल्लेख भएभन्दा कम रहेको विश्वास गर्छिन्। तर, नाइजेरियाको बढ्दो जनसंख्याअनुसार शिक्षामा पर्याप्त लगानी र उचित निगरानी हुन नसकेको उनी स्वीकार गर्छिन्।
उनी भन्छिन्, “उचित लगानी र प्रभावकारी निगरानी हुन सकेको छैन। म राज्यहरूको नाम लिन चाहन्नँ, तर हामीलाई थाहा छ, दुईवटा राज्यले आठ वर्षसम्म एक जना पनि शिक्षक नियुक्त गरेनन्।”
उनका अनुसार शिक्षा सरकारको पहिलो प्राथमिकता हो। दशकौँदेखिको बेवास्तालाई सम्बोधन गर्न ‘लुमिना’ जस्ता कार्यक्रम ल्याइएको छ। यस कार्यक्रमको लक्ष्य सन् २०३० सम्म १० लाख बालिकालाई सहयोग गर्नु हो। औपचारिक शिक्षाबाट वर्षौँसम्म टाढा रहेका किशोरीहरूलाई छोटो समयमा पढाइ पूरा गर्ने अवसर प्रदान गर्नु यसको उद्देश्य हो।
उनले ब्यान्डिट समूहको समस्या समाधान गर्न सरकारले सम्भव भएसम्म सबै प्रयास गरिरहेको पनि बताइन्।
“विद्यालयमा हुनुपर्ने केही बालबालिका यस्ता आपराधिक गतिविधिमा संलग्न भएको पनि हामीले देखेका छौँ,” उनले भनिन्।
(बीबीसीबाट)