• २०८३ मंसिर १
  • 2026 November 17, Tuesday

नेपालको सार्वभौम क्रेडिट रेटिङ स्कोर बढेर ३.६६ पुग्यो, ‘बीबी–’ स्तर कायम

काठमाडौं । नेपालको सार्वभौम क्रेडिट रेटिङ स्कोर बढेर ३.६६ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको सार्वभौम रेटिङ मोडलमा नेपालको स्कोर गत वर्षको ३.४७ बाट ०.१९ अंकले वृद्धि भएको हो ।

फिचको सार्वभौम रेटिङ मोडल (एसआरएम) अनुसार यस वर्ष नेपालको स्कोर ३.६६ पुगेको छ । ‘बीबी–’ स्तर प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्नेमा नेपालले यस वर्ष कुनै गुणात्मक मूल्याङ्कनबिना नै उक्त स्तर पार गरेको मन्त्रालयले जनाएको छ ।

गत वर्ष भने गुणात्मक मूल्याङ्कनका आधारमा नेपालको रेटिङ एक तह बढाएर ‘बीबी–’ कायम गरिएको थियो । यस वर्ष आफ्नै आर्थिक सूचकका आधारमा नेपालले ‘बीबी–’ स्तर प्राप्त गरेको मन्त्रालयको भनाइ छ ।

फिच रेटिङ्सले नेपालको सार्वभौम क्रेडिट रेटिङलाई स्थिर दृष्टिकोणसहित लगातार तेस्रो वर्ष ‘बीबी–’ स्तरमा कायम राखेको छ ।

रसुवा, बुढीगण्डकीलगायत क्षेत्रमा आएको विनाशकारी बाढीले सिर्जना गरेको प्रतिकूल अवस्थाका बाबजुद नेपालको रेटिङ स्कोर बढ्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको मन्त्रालयले जनाएको छ ।

सरकारले अघि बढाएका सुशासनका कदम र समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सुधार ल्याउन योगदान गरेको अर्थ मन्त्रालयको निष्कर्ष छ ।