सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स सुपर ५० नामक योजनाको इकाई निष्काशन तथा बिक्री खुला मिति २०८३ मंसिर २ गते देखि सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट मिति २०८३ असोज ७ गते स्वीकृति प्राप्त यस योजनाको अवधि १० वर्ष रहेको छ ।
योजनाको प्रारम्भिक आकार रु. १ अर्ब रहेको छ भने माग तथा आवेदनको अवस्था अनुसार अधिकतम रु. १ अर्ब २५ करोड सम्म योजनाका आकार कायम गर्न सकिने व्यवस्था रहेको छ । योजनाको इकाई निष्काशन छिटोमा २०८३ मंसिर ७ गते र ढिलोमा २०८३ मंसिर १६ गतेसम्म खुला रहनेछ । योजनाको कायम आकारको १५ प्रतिशत बीज पूँजीको रुपमा योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लगानी रहेको छ ।
सिटिजन्स सुपर ५० म्युचुअल फण्डको प्रमुख विशेषता ५० वटा उत्कृष्ट तथा लगानी योग्य कम्पनीहरूको छनोट गरी त्यस्ता कम्पनीहरूमा लगानी केन्द्रित गर्नु रहेको छ । योजनाको लगानी रणनीति अनुसार छनोट गरिएका कम्पनीहरूको शेयरमा लगानी गर्दै विविधीकृत पोर्टफोलियो निर्माण तथा व्यावसायिक लगानी व्यवस्थापन मार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । यस योजनाले विभिन्न कम्पनीको अध्ययन, छनोट तथा लगानी व्यवस्थापन गर्न कठिनाइ हुने लगानीकर्ताहरुलाई समेत विशेषज्ञ योजना व्यवस्थापक मार्फत छनोट गरिएका कम्पनीहरूको पोर्टफोलियोमा सामूहिक रूपमा लगानी गर्ने अवसर प्रदान गर्नेछ ।
यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताहरूले मेरो शेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इकाई बाँडफाँड पश्चात् यस योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजार मार्फत कारोबार गर्न सकिनेछ ।
सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापनमा हासिल गरेको अनुभव तथा संस्थागत क्षमताका आधारमा इक्रा नेपाल लि.बाट AMC Quality 3+ रेटिङ्ग प्राप्त गरेको छ । क्यापिटलले यस अघि व्यवस्थापन गरेका बन्दमुखी योजनाहरू सिटिजन्स म्युचुअल फण्ड–१ तथा सिटिजन्स म्युचुअल फण्ड–२ मार्फत क्रमशः औसत वार्षिक १२ प्रतिशत तथा १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको थियो । विगतका योजनाहरूको व्यवस्थापन अनुभव, लगानी अनुशासन तथा इकाईधनीहरुको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ योजनालाई समेत व्यावसायिक तथा व्यवस्थित ढंगले सञ्चालन गर्ने क्यापिटलको लक्ष्य रहेको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापनका अतिरिक्त लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभूति तथा संस्थागत परामर्श लगायतका विभिन्न मर्चेन्ट बैंकिङ्ग तथा पूँजी बजार सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । क्यापिटलले संस्थागत सुशासन, व्यावसायिक लगानी व्यवस्थापन तथा लगानीकर्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै पूँजी बजारको विकास र व्यवस्थित लगानी संस्कृतिको विस्तारमा योगदान पुर्याउँदै आएको छ ।