काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई आसन्न भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै देशको हितमा हुने विषयमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, र बाबुराम भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी नेपाल–भारत सम्बन्धका दीर्घकालीन समस्या समाधान गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुपर्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा नेपाल–भारत सम्बन्धका विषयमा अघि बढाइएका कामलाई पनि पूर्णता दिनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार पञ्चेश्वर परियोजना हस्ताक्षरको नजिक पुगेको थियो । त्यसलाई टुंग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक सहमति हुने उनको भनाइ छ । त्यस्तै, विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय सहमति र कृषिको विकासका लागि भएका समझदारीलाई पनि अघि बढाउनुपर्ने उनले बताए ।
प्रचण्डले भने, ‘पहिलो कुरा त नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु । दोस्रो कुरा, नेपाल–भारत सम्बन्धमा मैंले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे–जति काम अगाडि बढाएको थिएँ, ती कामलाई उहाँले फत्ते गरिदिनुस् भन्ने चाहन्छु । पञ्चेश्वर करिब–करिब हस्ताक्षर हुने ठाउँमा पुगेको थियो । त्यसलाई टुंग्याउने, विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय विषयलाई अगाडि बढाउने र कृषिको विकासका लागि भएका सहमति तथा समझदारीलाई अघि लैजाने काम होस् भन्ने चाहन्छु ।’
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आफूलाई धेरै जानकारी नभएको उल्लेख गर्दै प्रचण्डले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे आलोचना हुने बताएका छन् । उनले भने, ‘मैले पहिलो पटक संसद्मा बोल्दापनि राम्रो गर्नुस्, हाम्रो सहयोग हुन्छ भनेकै हुँ । अहिले पनि राम्रो गर्नुभयो भने राम्रो काममा साथ हुन्छ भनेका छौँ। राम्रो गर्दाखेरि साथ हुन्छ, नराम्रो गर्दा आलोचना आउँछ, त्यही हो ।’
यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको सीमा र सार्वभौमिकतासँग जोडिएका विषयलाई मुख्य रूपमा उठाउनुपर्ने बताएका छन् ।
उनले बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा ग्रेटर नेपालको नक्सा राखेको प्रसंग उल्लेख गर्दै उनले भारत भ्रमणका क्रममा त्यस विषयमा प्रधानमन्त्रीले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्री हुनुभन्दा अगाडि काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा ग्रेटर नेपालको नक्सा राख्नुभएको थियो। उहाँ पहिलो पटक भारत जाँदै हुनुहुन्छ। त्यो ग्रेटर नेपालको नक्सा किन राखिएको थियो, अब के हुन्छ? नेपाली जनताले प्रधानमन्त्री बालेनसँग प्रश्न गर्नेछन्–तपाईंले भारतमा गएर ग्रेटर नेपालको बारेमा के भन्नुभयो ?’
उनले नेपालको पश्चिमी सीमा महाकाली नदीको मुहानसम्बन्धी विवाद समाधान गर्नुपर्ने बताए । लिपुलेकबाट आउने नदीलाई महाकालीको मुहान मान्ने कि लिम्पियाधुराबाट आउने नदीलाई मान्ने भन्ने विषयमा स्पष्ट धारणा राख्नुपर्ने उनको भनाइ छ । विगत ३५ वर्षदेखि समाधान हुन नसकेको यो विषय वर्तमान सरकारले टुंग्याउनुपर्ने उनले बताए ।
खनालले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग नेपालको भएको भन्दै त्यस क्षेत्रमा भारतले गरेको अतिक्रमण हटाउने विषय पनि उठाउनुपर्ने बताएका छन् । उनले सुस्ता क्षेत्रमा हजारौँ रोपनी जग्गा अतिक्रमण भएको विषयमा नेपालको स्पष्ट अडान हुनुपर्ने धारणा राखेका छन् ।
उनका अनुसार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतले स्वीकार नगरेको विषय पनि प्रधानमन्त्रीले उठाउनुपर्छ । खुला सीमाबाट दुवै देशका अपराधी तथा भ्रष्ट व्यक्तिले एकअर्काको देशमा आश्रय लिने अवस्था अन्त्य गर्न सीमा व्यवस्थापन आवश्यक रहेको खनालको भनाइ छ ।
उनले भने, ‘नेपाल र भारतबीच खुला सिमाना छ । खुला सिमाना व्यापक रूपमा भ्रष्टाचारीहरूको संरक्षण गर्ने सिमाना बनेको छ । उताका भ्रष्टाचारी र अपराधी नेपालमा आश्रय लिन्छन्, नेपालका अपराधी भारतमा आश्रय लिन्छन्। यो स्थिति समाप्त गर्न बोर्डर व्यवस्थापन गर्नुको विकल्प छैन।’
भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रूपमा बाँध तथा संरचना निर्माण गर्दा नेपालको तराई क्षेत्रमा बाढी र डुबान हुने गरेको विषय पनि उठाउनुपर्ने उनले बताए ।
यसबाट किसानले भोगिरहेको समस्यालाई सम्बोधन गर्ने एजेन्डा प्रधानमन्त्रीसँग हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, नेपाल–भारतबीचको ठूलो व्यापार घाटा कम गर्ने विषय र सन् १९५० को सन्धि तथा सन् १९४७ को त्रिपक्षीय सैनिक सम्झौता पुनरावलोकन गर्नुपर्नेमा पनि उनले जोड दिए ।
त्यस्तै,पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने नेपाल र भारतबीचको आर्थिक सम्बन्ध संरचनागत रूपमा असमान रहेको बताएका छन् । लामो समयदेखि नेपालको आयात र निर्यातबीच ठूलो अन्तर रहँदै आएको उल्लेख गर्दै उनले कच्चा पदार्थ निर्यात गर्ने र तयारी वस्तु आयात गर्ने अवस्थाले असमान विनिमय सम्बन्ध सिर्जना गरेको बताए ।
भट्टराईले भने, ‘संरचनात्मक रूपमा नै लामो समयदेखि परनिर्भर सम्बन्धमा बाँधिएका छौँ । हाम्रो व्यापारको प्रकृति मात्रै होइन, निर्यात र आयातको अनुपात पनि हेर्नुपर्छ । कच्चा पदार्थ बढी निर्यात गर्ने र तयारी वस्तु बढी आयात गर्ने अवस्थामा असमान विनिमय सम्बन्ध हुन्छ । यो अर्थशास्त्रको सामान्य नियम हो।’
उनले भारतीय बजारमा नेपाली वस्तुको सहज पहुँच नभएको भन्दै गैरभन्सार अवरोध हटाउने र नेपाली वस्तुको निर्यात प्रवद्र्धन गर्ने विषय उठाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले भ्रमणका क्रममा प्रस्तुत गर्ने भिजन पेपरमा व्यापार घाटा र असमान विनिमयको विषय समेट्नुपर्ने उनले बताए ।
भट्टराईले खुला सीमा बन्द गर्नुभन्दा व्यवस्थित गर्नुपर्ने धारणा राखेका छन् । भारतको सुरक्षा चासोलाई सम्बोधन गर्दै दुवै देशको हित हुनेगरी सीमा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
उनले ऊर्जा व्यापारलाई पनि महत्वपूर्ण विषयका रूपमा उठाएका छन्। नेपालमा जलविद्युत् उत्पादन बढ्दै गएको अवस्थामा भारतमा विद्युत् निर्यात सहज बनाउनुपर्ने र बंगलादेशसम्म निर्यातको बाटो खोल्नुपर्ने उनले बताए ।
भट्टराईले भने, ‘मुख्य कुरा जलविद्युत् नै हो । हामीले उत्पादन गरेको विद्युत् निर्वाध रूपमा भारतसम्म निर्यात गर्न पाउनुपर्छ। बंगलादेशसँगको विद्युत् निर्यातको बाटो पनि खोल्नुपर्छ। व्यापार घाटा घटाउन तत्काल गर्न सकिने अर्को विषय कृषि उत्पादनको निर्यात हो। हाम्रा कृषि उत्पादन निर्यात गर्दा क्वारेन्टाइन र उत्पत्तिको प्रमाणलगायतका प्रक्रियामा झन्झट हुने गरेको छ । त्यसलाई सहज बनाउनुपर्छ।’
त्यस्तै, उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई प्रवेश मार्गको विषयमा सहमति गर्नुपर्ने बताए । अहिले नेपालले सीमित हवाई प्रवेश बिन्दु मात्र प्रयोग गर्न पाएको उल्लेख गर्दै पश्चिमतर्फ महेन्द्रनगर वा नेपालगञ्जबाट हवाई मार्ग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । यसले भारतीय तथा अन्य विदेशी पर्यटकको आवागमन सहज बनाउने उनले बताएका छन् ।
भट्टराईले भारतसँगको सम्बन्धमा माग्ने र गुनासो गर्ने प्रवृत्तिभन्दा नेपालको आफ्नै सामर्थ्य बढाएर रणनीतिक रूपमा अघि बढ्नुपर्ने बताएका छन् ।
उनले भने, ‘शक्ति नभइकन राजनीतिमा दया–माया गरेर पाइँदैन। मागेर पाइने होइन, आफ्नो सामथ्र्य बढाएर बुद्धि र विवेकका साथ लिन सकिन्छ भने लिने हो। हामी आपसमा लड्ने, गाली गर्ने मात्रै गरिरहेका छौँ। त्यसलाई मिलाएर अघि बढ्नुपर्छ।’
प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदैछन् ।