• २०८३ मंसिर ४
  • 2026 November 19, Thursday

रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक वृद्धि, महँगी पनि बढ्दो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको बाह्य आर्थिक अवस्था थप मजबुत देखिएको छ । रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि, विदेशी मुद्रा सञ्चितिमा नयाँ रेकर्ड तथा चालु खाता र शोधनान्तर बचतमा सुधार देखिए पनि उपभोक्ता मूल्यवृद्धि भने चुनौतीका रूपमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि असोजसम्ममा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्राप्त ५ खर्ब ५३ अर्ब रुपैयाँको तुलनामा २७.२ प्रतिशतले बढी हो ।

असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको असोजमा यस्तो रकम २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ ।

रेमिट्यान्सको निरन्तर वृद्धिले मुलुकको विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । पछिल्लो समय लगातार मासिक दुई खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने क्रम जारी छ । दसैं, तिहारलगायतका चाडपर्वका समयमा विदेशमा रहेका नेपालीले परिवारलाई रकम पठाउने प्रवृत्तिले पनि यसमा सहयोग पुर्‍याएको देखिन्छ ।

समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो ।

विदेशी मुद्रा सञ्चितिमा नयाँ कीर्तिमान

रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिसँगै नेपालको विदेशी मुद्रा सञ्चितिले पनि ऐतिहासिक उचाइ हासिल गरेको छ । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो । तीन महिनामा सञ्चिति ६.८ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा समेत विदेशी मुद्रा सञ्चिति ८.२ प्रतिशतले वृद्धि भई २७ अर्ब ३९ करोड डलर पुगेको छ । असार मसान्तमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड डलर रहेको थियो ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ । राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाको विदेशी मुद्रा सञ्चिति पनि समीक्षा अवधिमा ९.८ प्रतिशतले बढेको छ । कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ ।

उपलब्ध सञ्चितिले मुलुकको आयात क्षमतासमेत बलियो बनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात तथा १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।

विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६३ प्रतिशत बराबर पुगेको छ । कुल आयातसँगको अनुपात १४३.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४४.८ प्रतिशत रहेको छ । यद्यपि, आयातको वृद्धिसँगै सञ्चितिले धान्न सक्ने आयात अवधिमा केही संकुचन देखिएको छ ।

चालु खाता र शोधनान्तर दुवै बचतमा

मुलुकको बाह्य आर्थिक सूचकमा सुधार देखिने अर्को आधार चालु खाता र शोधनान्तर स्थितिमा भएको वृद्धि हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा यस्तो बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता बचत १ अर्ब ८२ करोड र शोधनान्तर बचत १ अर्ब ९८ करोड पुगेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीतर्फ पनि केही सुधार देखिएको छ । समीक्षा अवधिमा इक्विटीमार्फत ४ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रुपैयाँ थियो । तर, समग्र विदेशी मुद्रा सञ्चितिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानीको आकार अझै न्यून देखिन्छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्यो

रेमिट्यान्स आप्रवाहमा वृद्धि भइरहँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि सामान्य बढोत्तरी देखिएको छ ।

राष्ट्र बैंकका अनुसार पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि एक लाख २१ हजार ८७९ जनाले नयाँ अन्तिम श्रम स्वीकृति लिएका छन् । यसैगरी ८२ हजार ३६९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

यसले वैदेशिक रोजगारीमा नेपालीको निर्भरता अझै कायम रहेको देखाउँछ । विदेशबाट प्राप्त रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्रको सन्तुलनमा सहयोग पुर्‍याए पनि त्यसलाई स्वदेशमै उत्पादन, लगानी र रोजगारी सिर्जनासँग जोड्नु अर्थतन्त्रका लागि महत्वपूर्ण देखिन्छ ।

महँगीको दबाब

बाह्य आर्थिक सूचकमा सकारात्मक सुधार देखिए पनि सर्वसाधारणले दैनिक उपभोगमा भने मूल्यवृद्धिको दबाब सामना गर्नुपरेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको असोजमा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै थियो । पहिलो तीन महिनाको औसत मुद्रास्फीति पनि ६.२२ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो १.६७ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.०४ प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ ।

खाद्य समूहमा घ्यू तथा तेलको मूल्य १६.४४ प्रतिशत र फलफूलको मूल्य १५.४६ प्रतिशतले बढेको छ । त्यस्तै, चिनी तथा चिनीजन्य पदार्थ ११.८४ प्रतिशत, माछा तथा मासु ८.९१ प्रतिशत, मरमसला ७.७१ प्रतिशत र तरकारी ७.२८ प्रतिशतले महँगिएका छन् ।

गैरखाद्य तथा सेवा समूहमा यातायात खर्च १२.९७ प्रतिशतले बढेको छ । मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत र घरायसी उपकरण तथा फर्निसिङको मूल्य ६.०१ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत रूपमा ग्रामीण भेगमा मुद्रास्फीति ६.६३ प्रतिशत र सहरी क्षेत्रमा ६.२८ प्रतिशत रहेको छ । प्रदेशगत विवरणमा मधेस प्रदेशमा सबैभन्दा बढी ७.३७ प्रतिशत मूल्यवृद्धि देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ५.१३ प्रतिशत रहेको छ । भौगोलिक क्षेत्रमध्ये तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत, काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ ।