• २०८३ मंसिर ६
  • 2026 November 22, Sunday

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए हेल्मोज विद्यावारिधि अवार्ड

काठमाडौं । नेपालका जलविद् डा. पल्लवकुमार श्रेष्ठले जर्मनीको सबैभन्दा ठूलो वैज्ञानिक संस्था हेल्मोज एसोसिएसनले प्रदान गर्ने प्रतिष्ठित हेल्मोज विद्यावारिधि पुरस्कार २०२६ (Helmholtz Doctoral Award-2026) प्राप्त गरेका छन् । यो पुरस्कार उक्त एसोसिएसनले विद्यावारिधिअन्तर्गतका विशिष्ट अनुसन्धानकर्तालाई प्रदान गर्ने पुरस्कार हो ।

सन् २०२६ मा हेल्मोज एसोसिएसनका आठ हजारभन्दा बढी विद्यावारिधि अनुसन्धानकर्तामध्ये डा. श्रेष्ठसहित ११ जना मात्र पुरस्कारबाट सम्मानित भएका हुन् । नेपालबाट उक्त पुरस्कार प्राप्त गर्ने डा. श्रेष्ठ सम्भवत: पहिलो व्यक्ति हुन् ।

पुरस्कार एसोसिएसनका अध्यक्ष प्रा. मार्टिन केलरले प्रदान गरेका थिए । प्रसिध्द जर्मन भौतिकशास्त्री हर्मन भोन हेल्मोजको नामबाट स्थापना गरिएको उक्त एसोसिएसन जर्मनीका १८ वैज्ञानिक–प्राविधिक अनुसन्धान संस्थाहरुको छाता संगठन हो । नयाँ वैज्ञानिक खोज तथा उपलब्धिहरुलाई प्रविधि हस्तान्तरणको माध्यमबाट सामाजिक हितका लागि प्रयोगमा ल्याउने उद्देश्य रहेको यस संस्थाले सोको लागि महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

डा. पल्लवकुमार श्रेष्ठले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकबाट सिभिल इन्जिनियरिङमा बीई तथा वाटर रिसोर्सेस इन्जिनियरिङमा एमएससी गरेका हुन् । उनले हेल्मोज एसोसिएसनअन्तर्गतको सुप्रसिध्द वातावरणीय अनुसन्धान संस्था हेल्मोज इन्स्टिच्युट फर इन्भाइरोमेन्टल रिसर्च (युएफजेड) को कम्प्युटेसनल हाइड्रोसिस्टम्स विभागबाट विद्यावारिधि गरेपछि हाल पोस्टडक्टोरल वैज्ञानिकका रुपमा कार्यरत छन् । डा. श्रेष्ठको अनुसन्धानले नदीको जलबहाव र बाढीको पूर्वानुमानलाई थप विश्वसनीय बनाउन सहयोग पुग्नेछ ।

नेपालमा अनुसन्धानको सान्दर्भिकता

बाढीेसम्बन्धी पूर्वसूचनाको विश्वसनीयता र प्रभावकारी कार्ययोजना नदीको वहावको सटिक विश्लेषणमा निर्भर रहन्छ । तर साना पहाडी नदीका क्याचमेन्ट क्षेत्रहरुलाई हाल उपलव्ध हाइड्रोलोजिकल मोडेलहरुले पर्याप्त सम्बोधन गर्न नसकेको अवस्था छ ।

विद्यमान ‘मेसोस्केल हाइड्रोलोजिकल मोडेल’ अन्तर्गत डा. श्रेष्ठको अनुसन्धानबाट विकसित नयाँ प्रणालीबाट नदीको बहावको सटिक, स्थानकेन्द्रित अनुमान लगाउन सहयोग पुग्नुका साथै तथ्यांकहरुको प्रभावकारी विश्लेषणद्वारा बाढीको जोखिम पूर्वानुमान कार्यमा थप योगदान हुने विश्वास गरिएको छ ।

यी मोडेलहरु केवल प्रारुप मात्र नभएर जर्मनी तथा युरोपका विभिन्न देशहरुमा पटक–पटक परीक्षण गरी प्रमाणित भएका कार्यान्वयनयोग्य हाइड्रोलोजिकल प्रणाली हुन् । नेपालका हाइड्रो–प्रोजेक्टहरु प्राय: बाढीबाट प्रभावित भई निर्माण र संचालनमा ढिलाइ हुने गरेको र यसबाट आर्थिक दायित्व पनि बढेको देखिन्छ ।

नदीको बहाव तथा बाढीको विश्वसनीय अग्रिम जानकारीले यो स्थितिमा सुधार हुनुका साथै स्थानीय बासिन्दाहरुको सुरक्षा, जलऊर्जाको व्यवस्थापन र पूर्वाधारको विकासमा निकै महत्व राख्ने हुँदा नेपालमा यस नविनतम प्रविधिको सान्दर्भिकता उच्च रहेकोे छ ।