काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा नेपाल र भारतबीच लामो समयदेखि अड्किएको हवाई प्रवेश मार्गसम्बन्धी विषयमा महत्त्वपूर्ण सहमति भएको छ। सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको ‘बी३४५’ काठमाडौं-भैरहवा-लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति उल्लेख गरिएको हो।
संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा दुवै देशका प्रधानमन्त्रीले हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक उड्डयन क्षेत्रका विषयमा भइरहेको निरन्तर छलफललाई सकारात्मक रूपमा लिएको उल्लेख छ। सहमतिअनुसार उक्त हवाई मार्गलाई दुईतर्फी रूपमा सञ्चालन गर्न आवश्यक प्रक्रिया र कार्यविधिलाई अन्तिम रूप दिन दुवै देशबीच प्राविधिक परामर्श गरिनेछ। साथै, छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई समेत सम्बोधन गरिने भएको छ।
हालसम्म बी३४५ हवाई मार्ग काठमाडौं–भैरहवा हुँदै लखनऊतर्फ जाने अन्तर्राष्ट्रिय उडानका लागि मात्र प्रयोग हुँदै आएको थियो। अर्थात्, काठमाडौं विमानस्थलबाट उडेका अन्तर्राष्ट्रिय जहाजले भैरहवा हुँदै भारतीय आकाशमा प्रवेश गर्न पाउँथे। तर भारतबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि भने यो मार्ग उपलब्ध थिएन। भारतीय आकाश हुँदै नेपाल भित्रिने अधिकांश अन्तर्राष्ट्रिय उडानहरू सिमरा प्रवेश मार्गमा निर्भर रहनुपर्ने अवस्था थियो।
नेपालले सन् २००९ देखि नै भारतसँग थप अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो। विशेषगरी भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णयसँगै थप हवाई मार्गको आवश्यकता औँल्याइएको थियो। तर राजनीतिक, प्राविधिक, सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा सहमति जुट्न नसक्दा एक दशकभन्दा लामो समयसम्म नेपालको माग सम्बोधन हुन सकेको थिएन। यसअघि पनि विभिन्न प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस उपलब्धि हासिल हुन सकेको थिएन।
नेपाललाई भैरहवा हवाई मार्ग उपलब्ध गराउने विषयमा भारतले पनि बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई मार्ग माग्दै आएको थियो। दुई देशबीचको हवाई रुटसम्बन्धी छलफलमा यी विषयसमेत जोडिँदै आएका थिए। प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्ताले भने लामो समयदेखि रोकिएको प्रक्रियालाई सहमतितर्फ अघि बढाएको छ।
अब बी३४५ मार्ग दुईतर्फी रूपमा सञ्चालनमा आएपछि भारत हुँदै नेपाल आउने अन्तर्राष्ट्रिय उडानलाई भैरहवाबाटै प्रवेश गर्न सहज हुनेछ। यसले विशेषगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा व्यावसायिक सम्भावना विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल सीमित प्रवेश मार्गका कारण यी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकेका छैनन्।
यसअघि भैरहवा हुँदै काठमाडौंबाट बाहिरिने उडानमा कुवेत, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका गन्तव्यका विमानहरू प्रयोग हुँदै आएका छन्। अब सोही मार्गबाट नेपाल भित्रिने उडानसमेत सञ्चालन गर्न सकिने भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई थप विकल्प उपलब्ध हुनेछ। यसले उडान दूरी र समय घटाउनुका साथै इन्धन खर्चसमेत कम गर्न सक्नेछ। त्यसको सकारात्मक प्रभाव हवाई सेवाको सञ्चालन लागत र यात्रुले तिर्नुपर्ने हवाई भाडामा समेत पर्न सक्ने अपेक्षा गरिएको छ।
हवाई मार्गसम्बन्धी सहमतिलाई नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी भए पनि पर्याप्त हवाई प्रवेश मार्गको अभावमा अपेक्षित व्यावसायिक गतिविधि हुन नसकेको अवस्थामा यसले नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ। यद्यपि, मार्गलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक परामर्श र कार्यविधि टुंग्याउन बाँकी छ।