• २०८३ मंसिर ९
  • 2026 November 25, Wednesday

त्रिविका कलेजमा अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाइने, स्वघोषणा पत्र बुझाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूले एउटै परिसरमा अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन्। त्रिविले आफ्नो सम्बन्धनमा सञ्चालित कलेजहरूले एउटै परिसरमा अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको सुनिश्चित गर्न स्वघोषणा पत्र अनिवार्य गरेको छ।

त्रिवि उपकुलपतिको कार्यालयले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धन प्राप्त सबै क्याम्पस तथा कलेजलाई मंसिर १५ गतेभित्र आधिकारिक स्वघोषणा पत्र बुझाउन निर्देशन दिएको हो।

त्रिवि कार्यकारी परिषद्को २०८३ कात्तिक २१ गतेको निर्णयअनुसार जारी सूचनामा क्याम्पस तथा कलेजहरूले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिभुवन विश्वविद्यालयबाहेक अन्य कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन नगरेको लिखित प्रतिबद्धता जनाउनुपर्ने उल्लेख छ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन सम्बन्धी विनियम २०७३ (संशोधनसहित) को परिच्छेद १३ मा त्रिविबाहेक अन्य विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्सँग सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले विश्वविद्यालयले क्याम्पसहरूबाट स्वघोषणा माग गरेको हो।

विश्वविद्यालयका अनुसार सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूमा नयाँ विषय, शैक्षिक कार्यक्रम, सेक्सन तथा कोटा थप गर्ने प्रयोजनका लागि यस्तो विवरण संकलन गर्न लागिएको हो।

सम्बन्धित क्याम्पस तथा कलेजहरूले अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको व्यहोरा प्रमाणित हुने आधिकारिक स्वघोषणा पत्र पीडीएफ (PDF) मा तयार गरी मंसिर १५ गतेभित्र selfdeclarationtu2083@gmail.comमा अनिवार्य रूपमा पठाउनुपर्नेछ।

त्रिविले सम्बन्धित सबै क्याम्पस तथा कलेजलाई सूचनाको पालना गर्न निर्देशन दिँदै यससम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइट tu.edu.np मा उपलब्ध हुने जनाएको छ।