डोल्पा । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनील कुमार शर्माले पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षभन्दा संगठन सुदृढीकरण र राष्ट्र निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउने अभियानसहित कर्णाली पुगेका डा. शर्माले डोल्पाबाट कांग्रेसको आन्तरिक निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै पार्टीलाई एकताबद्ध बनाएर नयाँ दिशामा अघि बढाउनुपर्ने बताएका छन् ।
“स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त निर्वाचनमार्फत इमानदार, योग्य र सक्षम नेतृत्व चयन हुने वातावरण सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता हो,” उनले लेखेका छन् ।
शर्माले पार्टीभित्रको बहस व्यक्ति केन्द्रित नभई नीति, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, आर्थिक विकास र युवालाई विश्व बजारसँग जोड्ने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । “अबको बहस कसले कांग्रेसको नेतृत्व गर्ने भन्नेमा मात्र सीमित नभई, कांग्रेसको नेतृत्वले मुलुकलाई कहाँ र कसरी पुर्याउने भन्नेमा केन्द्रित हुनुपर्छ,” उनले लेखेका छन् ।
उनले फरक विचार र दृष्टिकोणलाई विभाजनको कारण बनाउन नहुने उल्लेख गर्दै वैचारिक विविधतालाई संगठनात्मक रूपान्तरण र सुदृढीकरणको आधार बनाउनुपर्ने बताएका छन् । लोकतन्त्रको नेतृत्व गर्ने पार्टीले आफ्नै संगठनभित्र लोकतान्त्रिक संस्कार र अभ्यास सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
महाधिवेशन तथा नेतृत्व चयन प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै उनले स्वयंसेवकका नाममा अमुक व्यक्तिहरू परिचालन गर्ने, मनोनयनका नाममा नक्कली मतदाता खडा गर्ने र निर्वाचनमा धाँधली गर्ने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्ने बताएका छन् । “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त निर्वाचन प्रणालीमार्फत इमानदार, योग्य तथा सक्षम नेतृत्व चयन हुने वातावरण निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो,” उनले भनेका छन् ।
मुलुकका दुर्गम क्षेत्रमा गरिबी, अभाव र विभिन्न समस्यासँग जुधिरहेका नागरिकको जीवनस्तर उकास्ने, राष्ट्रिय अर्थतन्त्र सबल बनाउने तथा सर्वसुलभ र गुणस्तरीय शिक्षा एवं स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने विषय नेतृत्वको प्राथमिकतामा पर्नुपर्ने उनले बताएका छन् । रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि नवीन राष्ट्रिय नीति निर्माण गर्नुपर्ने तथा युवालाई अन्तर्राष्ट्रिय बजारमा विकसित प्रविधिसँग जोड्दै प्रतिस्पर्धी बनाउनुपर्ने उनको भनाइ छ ।
एकअर्काको विरोध, आलोचना र चरित्रहत्या गरेर समय खेर फाल्ने छुट राजनीतिक नेतृत्वलाई नरहेको उल्लेख गर्दै उनले भनेका छन्, “नेतृत्वको श्रेष्ठता अरूलाई कमजोर बनाएर होइन, आफ्ना विचार, नीति, नैतिक आचरण र कार्यक्षमताका माध्यमबाट स्थापित हुनुपर्छ।” आन्तरिक लोकतन्त्रको सुदृढीकरण, नेतृत्वको नवीकरण, संगठनात्मक एकता र स्पष्ट राष्ट्रिय नीतिका माध्यमबाट कांग्रेसलाई नयाँ दिशा दिनुपर्ने उनको सन्देश छ ।