• २०८३ मंसिर १२
  • 2026 November 28, Saturday

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन मंसिर १३ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको सूचनाअनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।

पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

तर काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा सोही मार्गबाट फर्किने सवारीसाधनको आवागमन भने नियमित सञ्चालन हुने सूचनामा उल्लेख छ ।

सडक बन्द हुने समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय मिलाएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ । यससम्बन्धी थप जानकारी तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सडक डिभिजन भरतपुरले सम्पर्क गर्न आग्रह गरेका छन् ।