काठमाडौँ । म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा विवाह समारोहस्थल र विद्यालयसहित विभिन्न स्थानमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ। आक्रमणमा दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
उद्धारकर्मीका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मोए बाय गाउँमा विवाह समारोह भइरहेको स्थानमा सेनाले गरेको आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
त्यसैगरी, निर्वासित नेसनल युनिटी गभर्नमेन्टका अनुसार बिहीबार मध्य म्यानमारको मगवे क्षेत्रमा रहेको इन योन गाउँको एउटा विद्यालयमा हवाई आक्रमण हुँदा विद्यार्थी, युवा बौद्ध भिक्षु र शिक्षकसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो ।
सेनाले शनिबार साँझ पश्चिमी म्यानमारको रखाइन राज्यस्थित म्राउक–यू सहरको आवासीय क्षेत्रमा पनि बमबारी गरेको छ । उक्त आक्रमणमा १० भन्दा बढीको मृत्यु र करिब २० जना घाइते भएको समाचारमा जनाइएको छ । उक्त क्षेत्र सेनाविरुद्ध लडिरहेको शक्तिशाली विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको छ ।
म्यानमारको सैन्य नेतृत्वले यी आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । सन् २०२१ मा सेनाले निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेपछि देश लामो गृहयुद्धमा फसेको छ । त्यसयता म्यानमारका विभिन्न क्षेत्रमा लगभग दैनिकजसो सैन्य हवाई आक्रमण हुँदै आएका छन् ।