• २०८३ असोज १३
  • 2026 September 29, Tuesday

आरजुकाे ‘अफर’मा ओलीकाे ‘कमेन्ट’ : नेपाली कांग्रेस प्राइभेट लिमिटेड !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाप्रति कटाक्ष गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले आरजुले डडेलधुरामा ‘बजेट नदिने, विदेश पठाउने’ भनेर गरेको भाषण प्रति लक्षित गर्दै उनले नेपाली कांग्रेस ‘प्राइभेट लिमिटेड’ बनेको बताएका हुन् ।

उनले भने, ‘जनतालाई समेत धम्काइयो भने कार्यकर्ता के भयो र ? कांग्रेसको नेतृत्वबाटै के आयो भने मैले तोकेको अर्को पार्टीलाई भोट दिनु नत्र पार्टीबाट कारवाही गर्छु । मानौँ पार्टी प्राइभेट लिमिटेड हो ।’

ओलीले लाेकतन्त्रकाे हरिविजाेग भएकाे टिप्पणी पनि गरे । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा केही जाने भएन किन भने रुखले जितेन कि क्या हो? लोकतन्त्रको हरिविजोग यो भन्दा के हुन्छ?’

उनले डा. राणाले चुनावी प्रचारका क्रममा डडेल्धुरामा दिएको अभिव्यक्तितर्फ व्यंग्य गरी प्रधानमन्त्रीको वडामा केही नजाने टिप्पणी गरेका हुन् । प्रधानमन्त्री देउवाको मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेस पराजित भएको छ ।

चुनावी प्रचारका लागि डडेल्धुरा पुगेका बेला आरजुले कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।