• २०८३ कार्तिक २२
  • 2026 November 08, Sunday

सेबोनले सार्वजनिक गर्‍यो नयाँ धितोपत्र सेवाको अवधारणापत्र, मार्जिन लेन्डिङदेखि कभर्ड सर्ट सेलिङसम्मको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजी बजारमा पहिलोपटक आधुनिक धितोपत्र वित्तीय सेवा सञ्चालनको आधार तयार गर्न मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी (सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ) र कभर्ड सर्ट सेलिङ सम्बन्धी अवधारणापत्र (कन्सल्टेसन पेपर) सार्वजनिक गरेको छ। बोर्डले बजारको तयारी मूल्यांकन गर्दै सरोकारवालाको सुझाव संकलन गर्न उक्त परामर्श प्रक्रिया सुरु गरेको जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभजस्ता आधुनिक वित्तीय उपकरण चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी, संस्थागत तथा प्राविधिक तयारी अघि बढाइएको बोर्डले जनाएको छ। चालु आर्थिक वर्षको पुँजी बजार नीति तथा कार्यक्रममा समेत यस्ता सेवाका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था विकास गर्ने योजना समावेश गरिएको छ।

सेबोनका अनुसार विश्वका विकसित तथा उदीयमान पुँजी बजारमा यस्ता वित्तीय सेवाले बजारलाई थप गहिरो, तरल, प्रतिस्पर्धी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। नेपालमा पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार बजार आधुनिकीकरण गर्दै मूल्य निर्धारण प्रक्रिया प्रभावकारी बनाउने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने तथा जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने उद्देश्य राखिएको छ।

चार अध्यायमा विभाजन गरिएको अवधारणापत्रमा नेपालको पुँजी बजारको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नियामकीय प्रभाव विश्लेषण तथा नेपालका लागि उपयुक्त मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र कभर्ड सर्ट सेलिङको मोडल प्रस्ताव गरिएको छ। अमेरिका, भारत, सिंगापुर, हङकङ र अष्ट्रेलियालगायत देशका अनुभवलाई पनि समेटिएको छ।

अवधारणापत्रमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल तथा व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता लगायत सम्बन्धित निकायको भूमिका स्पष्ट गरिएको छ। साथै कानुनी सुधार, सूचना प्रविधि आधुनिकीकरण, बजार पूर्वाधार सुदृढीकरण, मानव स्रोत विकास, लगानीकर्ता शिक्षा र चरणबद्ध कार्यान्वयन रणनीतिलाई पनि प्राथमिकता दिइएको छ।

बोर्डका अनुसार मार्जिन लेन्डिङ लागू भएपछि योग्य लगानीकर्ताले अतिरिक्त स्रोत प्रयोग गरेर कारोबार गर्न सक्नेछन्। धितोपत्र उधारो तथा सापटी प्रणालीले निष्क्रिय रहेका धितोपत्र पुनः बजारमा परिचालन गर्न सहयोग गर्नेछ भने कभर्ड सर्ट सेलिङले मूल्य घट्ने अवस्थामासमेत कारोबारको अवसर उपलब्ध गराउँदै मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउन र बजारको एकतर्फी उतारचढाव नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, यी सेवा सञ्चालनका लागि स्पष्ट कानुनी आधार, बलियो सूचना प्रविधि प्रणाली, सक्षम बजार पूर्वाधार, प्रभावकारी जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणका व्यवस्था अपरिहार्य हुने बोर्डले जनाएको छ।

सेबोनले अवधारणापत्रमाथि प्राप्त सुझावका आधारमा मार्जिन लेन्डिङ नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली तथा कभर्ड सर्ट सेलिङ नियमावली तयार गरी सार्वजनिक गर्ने जनाएको छ। बोर्डले सरोकारवाला, विज्ञ तथा लगानीकर्तालाई research@sebon.gov.np मार्फत सुझाव पठाउन आग्रह गरेको छ।