• २०८३ कार्तिक २२
  • 2026 November 08, Sunday

आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न गरेको छ । कम्पनीमा आवद्ध भई कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्न कार्यक्रम आयोजना कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो ।

अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु, कम्पनीको उच्च व्यवस्थापन र अन्य सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य बारे प्रष्ट पारेका थिए । उनले कम्पनीले गरेको उल्लेख्य प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रयोग मुख्य रहेको र अभिकर्ताको मेहेनतलाई साथ दिन कम्पनीलाई आगामी दिनहरुमा उच्चतम प्रविधिको प्रयोग गर्ने दायित्व रहेको बताए ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला ८ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्वअध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरी सहयोग गरिरहने बताए ।

यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्रकाले सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरुलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८२/८३ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भुमिका रहेकोमा दुईमत नरहेको बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको, कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै आएको र आगामी दिनमा कम्पनीका डिजिटल सेवा प्रवाहलाई थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।

आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गरेका, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट अभिकर्ताहरुलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्याल तथा निर्देशकहरु, विनोद केसी, उषा ढकाल,सुनील कुमार पोखरेल, सन्दीप अग्रवाल लगायतले अवार्ड वितरण गरेका थिए ।