• २०८३ कार्तिक २६
  • 2026 November 12, Thursday

कोशी प्रदेशका २१ सदस्यीय टोली भारत प्रस्थान, हैदराबादमा विशेष तालिम लिने

काठमाडौं । भारत सरकारको क्षमता अभिवृद्धि पहल अन्तर्गत नेपालको कोशी प्रदेशका चार जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीहरूको २१ सदस्यीय प्रतिनिधिमण्डल अध्ययन भ्रमणका लागि भारत प्रस्थान गरेको छ।

भ्रमण दलमा कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी छन्। टोलीले भारतको हैदराबादस्थित प्रसिद्ध ‘राष्ट्रिय ग्रामीण विकास एवम् पञ्चायती राज संस्थान’ मा आयोजना हुने विशेष तालिम कार्यक्रममा भाग लिनेछ।

विशेषगरी कृषि, दिगो विकास र सुशासनका विषयमा केन्द्रित रहने यो तालिमले सहभागीहरूलाई आधुनिक अभ्यास र प्रशासनिक सीपका बारेमा जानकारी प्रदान गर्नेछ। यो पहलले नेपाल र भारतबीच ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्ने, स्थानीय निकायहरूको संस्थागत क्षमता सुदृढ बनाउने र दुई देशबीचको लामो समयदेखिको द्विपक्षीय साझेदारीलाई अझ प्रगाढ बनाउने साझा प्रतिबद्धतालाई उजागर गरेको छ।

पछिल्लो समय स्थानीय सरकारको क्षमता विकासका लागि भारत प्रस्थान गर्ने यो नेपालको चौथो प्रतिनिधिमण्डल हो। यसअघि कोशी प्रदेशको संखुवासभा, कर्णाली प्रदेशको हुम्ला तथा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका प्रतिनिधिहरूले यस्तै अध्ययन भ्रमण गरिसकेका छन्।