काठमाडौं । एल.पी. ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको ग्यासको अभाव र उपभोक्ताहरूले भोग्नुपरेको सास्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको लाइन कम गर्न र आपूर्ति व्यवस्था सहज बनाउन उपभोक्ता, विक्रेता र नेपाल आयल निगमसँग विशेष अपिल गरेको छ।
किन भयो अभाव ?
संघका अनुसार विगत केही समयदेखि ग्यासको माग र आपूर्तिबीच सन्तुलन नहुँदा बजारमा समस्या देखिएको हो। अभाव हुनुका मुख्य कारणहरू यस्ता छन्:
आयातमा कमी : विगत ४ महिनाको अवधिमा नियमित खपतको तुलनामा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात भएको छ।
डर र भण्डारण : ग्यास नपाइने डरले उपभोक्ताहरूले आफूसँग भएका सबै खाली सिलिन्डरहरू एकैपटक भर्न खोज्दा बजारमा एकाएक चाप बढेको हो।
आधाबाट पूर्ण सिलिन्डरमा रूपान्तरण : विगतमा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण ७.१ केजी (आधा सिलिन्डर) मात्र वितरण गरिएकोमा अहिले अवस्था सुधारिएसँगै पुनः १४.२ केजी (भरि सिलिन्डर) वितरण सुरु गरिएको छ। यसले गर्दा पनि व्यवस्थापनमा केही समय लागेको संघको भनाइ छ।
उपभोक्ता र सरोकारवालालाई आग्रह
बजारमा देखिएको यो ‘कृत्रिम’ चापलाई कम गर्न संघले जसको घरमा कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात छ, उहाँहरूलाई तत्कालै लाइनमा नबसिदिन संघले अनुरोध गरेको छ।
विक्रेतालाई उपलब्ध भएको ग्यास पारदर्शी र व्यवस्थित ढंगले उपभोक्तालाई वितरण गर्न विक्रेताहरूलाई निर्देशन दिएको छ।
यस्तै, नेपाल आयल निगमसँग बजार पूर्ण रूपमा सहज नहुन्जेलसम्म नियमित कोटाभन्दा बढी ग्यास आयात गरिदिन संघले माग गरेको छ।
संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो सानो भूमिकाले ग्यास नपाएर भौतारिरहेका उपभोक्तालाई ठूलो सहयोग पुग्नेछ। आयल निगम, उद्योगी, विक्रेता र उपभोक्ता सबैले हातेमालो गरेमा निकै छोटो समयमा बजार सहज बन्नेछ।”
संघले सबै पक्षलाई इमानदार र कर्तव्यनिष्ठ भएर बजारलाई यथासक्य चाँडो सामान्य तुल्याउने अभियानमा लाग्न हार्दिक अपील समेत गरेको छ।