• २०८३ कार्तिक २७
  • 2026 November 13, Friday

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली राजदूत पार्कको बिदाई भेट

नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्छ

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले बिदाई भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताए । उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ । अहिले हामी ऊर्जा र उत्पादनको क्षेत्रमा छौँ। अब हामीले अन्य क्षेत्रमा पनि जोड दिनुपर्छ ।’

शिक्षा क्षेत्रमा अनुसन्धान संस्थाहरूबीच सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिए । साथै, परराष्ट्रमन्त्री खनालले दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई मुलुकबीचको सम्बन्धको नमुना रहेको बताए ।

उनले ईपीएसले नेपाल र दक्षिण कोरियाबीच जनस्तरको सम्बन्धमा समेत सकारात्मक प्रभाव पारेको उल्लेख गरे ।

राजदूत पार्कले आफ्नो कार्यकालभर नेपाल सरकार र नेपाली जनताबाट प्राप्त सहयोग, सद्भाव र समर्थनप्रति आभार व्यक्त गरे ।