काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
सञ्चारमन्त्री तिमिल्सिनाले यही साउन ८ गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । उनले दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै बडीमालिकामा जतिसक्दो छिटो सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । निर्देशनपछि मन्त्रालयले नेपाल टेलिकमसँग निरन्तर समन्वय गर्दै सेवा विस्तारका लागि आवश्यक पूर्वाधार, उपकरण ढुवानी र जडान प्रक्रियालाई तीव्रता दिएको हो ।
यसबीच सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग समेत छलफल गरी दूरसञ्चार पूर्वाधार जडानका लागि आवश्यक स्थान, स्थानीय सडकको अवस्था तथा स्थानीय तहबाट हुन सक्ने सहयोगका विषयमा जानकारी लिएका थिए । स्थलमार्गबाट उपकरण तथा सामग्री लैजान सम्भव नदेखिएपछि हेलिकप्टरमार्फत ढुवानीको व्यवस्था मिलाउन उनले निर्देशन दिएका थिए ।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो । टेलिकमले साउन १८ गतेदेखि नै सामग्री बडीमालिका पुर्याउने प्रयास गरे पनि मौसम अनुकूल नभएका कारण उडान हुन नसकेको उनले बताए । खराब मौसमका कारण जडानस्थलमा खटाइएको प्राविधिक टोलीसमेत फिर्ता बोलाउनुपरेको थियो ।
मंगलबार हेलिकप्टरबाट सामग्री तोकिएको स्थानसम्म पुर्याइए पनि त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत् बोकाएर लैजानुपर्ने अवस्था रहेको निर्देशक शर्माले जानकारी दिए । उच्च हिमाली क्षेत्रमा उपकरण ढुवानीसँगै जनशक्ति व्यवस्थापन समेत चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
उनका अनुसार सामग्री जडानस्थलसम्म पुर्याउने, उच्च उचाइमा काम गर्न सक्ने जनशक्ति व्यवस्थापन गर्ने तथा स्थानीय तहबाट आवश्यक सहयोग जुटाउने विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको छ । जडानस्थलमा आवश्यक सबै सामग्री पुगेपछि करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिका क्षेत्रमा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने तयारी भए पनि प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीमा देखिएको कठिनाइका कारण निर्धारित समयभन्दा केही ढिलाइ हुने भएको हो । यद्यपि, उपकरण जडान र प्राविधिक कामलाई तीव्रता दिएर सकेसम्म छिटो सेवा सञ्चालन गर्ने तयारी टेलिकमले गरेको छ ।
बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको छ । उच्च हिमाली भूभागमा अवस्थित उक्त क्षेत्रमा धार्मिक पर्यटनका साथै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि भरपर्दो टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध हुन सकेको थिएन । सञ्चार सेवाको अभावले स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई सम्पर्क र सूचना आदानप्रदानमा समस्या हुँदै आएको थियो ।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार उच्च हिमाली क्षेत्रमा समेत आधुनिक दूरसञ्चार सेवा पुर्याउने काम अघि बढाइएको टेलिकमले जनाएको छ ।
बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ । पर्यटकीय गतिविधि बढिरहेका उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक प्राविधिक तथा भौगोलिक अध्ययन भइरहेको छ ।
यसअघि पनि नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रका केही स्थानमा ४जी सेवा विस्तार गरिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका-१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटरको उचाइमा ४जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटरको उचाइमा समेत ४जी सेवा सुरु भइसकेको छ ।
सरकारले दुर्गम, ग्रामीण तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ । भौगोलिक विकटताका कारण सञ्चार सेवाबाट वञ्चित क्षेत्रलाई राष्ट्रिय सञ्चार सञ्जालमा जोड्ने तथा डिजिटल विभाजन घटाउने उद्देश्यले मोबाइल तथा इन्टरनेट सेवाको पहुँच विस्तारलाई तीव्रता दिइएको हो ।
देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि हाल करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार, क्षमता वृद्धि र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।