काठमाडौं । यस वर्षको कैलाश यात्रा साथै भदौ १४ गते पुलचोकस्थित ‘द प्लाजा’ मा आयोजना हुन लागेको ‘मिस्टिक आई’ (Mystic Eye) कार्यक्रमका लागि गत श्रावण २७ गते सद्गुरु काठमाडौँ आइपुगेका छन् ।
नेपालमा पहिलो पटक सद्गुरुसँग ‘मिस्टिक आई’ कार्यक्रम आयोजना हुन लागेको हो । ‘मिस्टिक आई’ एक रहस्यदर्शीसँग जीवनका रहस्यमयी आयामहरूलाई गहिराइमा खोज र अनुभव गर्ने पृथक् कार्यक्रम हो । जसमा सहभागीहरूले जीवनका गहन प्रश्नहरूलाई गहिराइमा नियाल्ने, सद्गुरुसँग ध्यान अनुभव गर्ने अनि भित्री खुसियालीका लागी साधनहरू सिक्ने विशेष अवसर प्राप्त गर्नेछन् ।
१५ वर्ष माथिका जो–कोहीले कार्यक्रमको लागि रजिष्टर गरी सहभागी हुन सक्नुहुनेछ । सो कार्यक्रममा लाइभ नेपाली अनुवाद समेत रहनेछ । कार्यक्रमबारे थप जानकारीका लागि बसुन्धारास्थित लिङ्ग भैरवी देवी मन्दिरमा समेत सम्पर्क गर्न सकिनेछ ।
हरेक वर्ष झैँ, कैलाश मानसरोवरको यात्रा सुरू गर्न यस पटक विश्वभरिबाट १७०० भन्दा बढी सहभागीहरूसहित सद्गुरु नेपाल आएका हुन् । केही दिन नेपालका विशेष स्थानहरू भ्रमण गरी, गत वर्ष झैँ, यस वर्ष पनि सद्गुरुले कैलाश पर्वतसम्मको आफ्नो यात्रा मोटरसाइकलमा नै सुरू गर्ने तयारी गरेका छन् ।
सद्गुरु एक योगी, रहस्यदर्शी र आत्मज्ञानी गुरु हुन् । योग र अध्यात्ममा मात्र नभई पर्यावरण, शिक्षा, स्वास्थ्य, ग्रामीण जीवन उत्थानलगायतका क्षेत्रहरूमा आफ्नो ईशा फाउन्डेसन संस्थामार्फत सद्गुरुले विगत ४० वर्षदेखि अवरत योगदान पुऱ्याइरहेका छन् । उनका सम्पूर्ण कार्य र प्रयासको एउटै उद्देश्य भनेको मानव चेतनालाई माथि उठाउनु रहेको छ ।