• २०८३ साउन ३१
  • 2026 August 16, Sunday

एक वर्षमा २० वाणिज्य बैंकको नाफा झन्डै ७० अर्ब, कसले कति कमाए ?

काठमाडौँ। बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष बैंकिङ क्षेत्रकोमा नाफाका उल्लेख्य सुधार भएको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो गत आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकहरुको कुल खुद नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ रहेको थियो । यस वर्ष बैंकहरुले नाफामा १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले वृद्धि भएको हो।

तर बैंकहरूको नाफा बढेको तथ्यांकलाई मात्र आधार बनाएर बैंकिङ क्षेत्रको व्यवसायिक विस्तार तीव्र भएको निष्कर्ष निकाल्न भने मिल्दैन । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहँदा र कर्जाको ब्याजदर पनि न्यून हुँदा समेत निजी क्षेत्रबाट नयाँ लगानी तथा कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेन ।
त्यसैले बैंकहरूको नाफा वृद्धिको आधार नयाँ कर्जा विस्तारभन्दा पनि कर्जा असुलीमा सुधार, कर्जा नोक्सानी व्यवस्थापनमा आएको परिवर्तन, प्रोभिजन घट्नु तथा केही बैंकले अघिल्लो अवधिमा छुट्याएको रकम राइटब्याक गर्न पाउनुलाई मानिएको छ ।

नाफाको आकारका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकले गत आर्थिक वर्ष ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा करिब ३३ प्रतिशतले बढेको हो ।

नाफाको रकममा नबिलपछि कुमारी बैंक दोस्रो स्थानमा छ । कुमारीले ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँमा सीमित रहेको बैंकको नाफा एक वर्षमै करिब ३०६ प्रतिशतले बढेको हो ।

कुमारी बैंकको नाफा वृद्धिलाई भने सामान्य व्यवसाय विस्तारको परिणामका रूपमा मात्र हेर्न सकिँदैन । बैंकले अघिल्लो अवधिमा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याएको रकममध्ये करिब १ अर्ब ४४ करोड रुपैयाँ राइटब्याक गरेको छ । यसले बैंकको अन्तिम नाफामा ठूलो सकारात्मक प्रभाव पारेको देखिन्छ । खुद ब्याज आम्दानीमा भने बैंकको वृद्धि करिब ३ प्रतिशतको आसपास मात्र रहेकाले नाफामा आएको असाधारण उछालको पछाडि प्रोभिजनसम्बन्धी सुधारको भूमिका महत्वपूर्ण देखिन्छ ।

ग्लोबल आइएमई बैंक ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफासहित तेस्रो स्थानमा छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २२.६७ प्रतिशतले बढेको हो ।

एभरेस्ट बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ नाफा कमाउँदै चौथो स्थानमा आफूलाई कायम राखेको छ । एभरेस्टको नाफा ४.७५ प्रतिशतले मात्र बढेको भए पनि खराब कर्जा अनुपात निकै न्यून रहेको छ । बैंकको खराब कर्जा करिब ०.४९ प्रतिशतमा सीमित छ ।

राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने नेपाल बैंकले ४ अर्ब ५० करोड २० लाख रुपैयाँ कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६०.६८ प्रतिशतले बढेको छ भने नेपाल बैंकको नाफा ४६.२० प्रतिशतले वृद्धि भएको छ । नेपाल बैंकले करिब १ अर्ब १ करोड रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ । ब्याज आम्दानीमा खासै वृद्धि नभए पनि यस्तो राइटब्याकले अन्तिम नाफा बढाउन महत्वपूर्ण योगदान दिएको देखिन्छ ।

प्राइम कमर्सियल बैंकले ४ अर्ब ११ करोड २६ लाख रुपैयाँ, एनएमबी बैंकले ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ, सानिमा बैंकले ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । एनएमबी बैंकको नाफा ४०.६० प्रतिशत र सानिमाको ३८.०१ प्रतिशतले बढेको छ । प्राइम बैंकको नाफा २८.४९ प्रतिशतले वृद्धि भएको छ भने सिद्धार्थ बैंकको नाफामा ४.५४ प्रतिशतको सामान्य सुधार देखिएको छ ।

लक्ष्मी सनराइज बैंकले ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । तर अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २३.२६ प्रतिशतले घटेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब ८५ करोड २१ लाख रुपैयाँ रहेको छ र यसमा ५.३९ प्रतिशतको कमी आएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६.५९ प्रतिशत कम हो । कृषि विकास बैंकले २ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने यसको नाफा २९.५२ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा १२.२४ प्रतिशतले बढेको हो ।

सिटिजन्स बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ र यसको नाफा वृद्धिदर ६३.०५ प्रतिशत रहेको छ ।

नेपाल एसबीआई बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.८९ प्रतिशत बढी हो ।

प्रतिशतका आधारमा सबैभन्दा ठूलो नाफा वृद्धि हिमालयन बैंकमा देखिएको छ । बैंकले १ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा करिब १३ करोड रुपैयाँमा सीमित रहेकाले यसपटकको वृद्धि १ हजार प्रतिशतभन्दा माथि देखिएको हो । यस्तो उच्च वृद्धिदरलाई भने अघिल्लो वर्षको अत्यन्तै कमजोर आधारसँग जोडेर हेर्नुपर्ने हुन्छ । कम आधारबाट सामान्य सुधार हुँदा पनि प्रतिशतका आधारमा वृद्धि असाधारण देखिन सक्छ ।

एनआईसी एशिया बैंक पनि अघिल्लो वर्षको ठूलो नोक्सानीपछि यसपटक नाफामा फर्किएको छ । बैंकले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंक करिब ३ अर्ब ८७ करोड रुपैयाँ नोक्सानीमा थियो । नोक्सानीबाट नाफामा फर्किनु बैंकका लागि सकारात्मक संकेत भए पनि यसको दिगोपन मूल्यांकन गर्न कर्जा असुली, खराब कर्जा, प्रोभिजन तथा पुँजी पर्याप्तताको आगामी अवस्थालाई हेर्नुपर्ने हुन्छ ।

समग्र बैंकिङ क्षेत्र नाफामा सुधार गरिरहेका बेला प्रभु बैंक भने घाटामा गएको छ । बैंकले गत आर्थिक वर्ष २४ करोड १२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो वर्ष ८७ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको बैंकको परिणाम यसपटक उल्टिएको हो । प्रभु बैंकको खुद ब्याज आम्दानी भने करिब २८.७३ प्रतिशतले बढेको छ । तर कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम १०५.७७ प्रतिशतले बढेर करिब ५ अर्ब रुपैयाँ पुगेपछि ब्याज आम्दानीबाट भएको सुधारले अन्तिम नाफा धान्न सकेन ।

बैंकिङ क्षेत्रको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानीमा भने समग्र वृद्धि निकै न्यून छ । २० बैंकको कुल खुद ब्याज आम्दानी अघिल्लो वर्षको करिब १ खर्ब ८९ अर्ब ८४ करोड रुपैयाँबाट बढेर करिब १ खर्ब ९२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अर्थात् नाफा ३२ प्रतिशतभन्दा बढीले बढ्दा मुख्य ब्याज आम्दानी भने करिब १ प्रतिशतको हाराहारीमा मात्र बढेको देखिन्छ ।

खुद ब्याज आम्दानीको रकममा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । त्यसपछि ग्लोबल आइएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन् । अर्कोतर्फ स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी करिब ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । नेपाल एसबीआई र माछापुच्छ्रे बैंक पनि तुलनात्मक रूपमा कम खुद ब्याज आम्दानी गर्ने बैंकमा छन् । वृद्धि दरमा भने प्रभु बैंक अगाडि रहेको छ । राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य दरले बढेको छ ।

अर्कोतर्फ एनआईसी एशियाको खुद ब्याज आम्दानी करिब २२.५६ प्रतिशतले घटेको छ । हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याज आम्दानीमा पनि कमी आएको छ । यसले बैंकको नाफा निर्धारणमा ब्याज आम्दानीबाहेक कर्जा असुली, प्रोभिजन, सञ्चालन खर्च र अन्य आम्दानीको भूमिका बढेको देखाउँछ ।

गत आर्थिक वर्ष बैंकहरूको कर्जा नोक्सानी व्यवस्थापनमा पनि उल्लेख्य परिवर्तन आएको छ । समग्र कर्जा नोक्सानी व्यवस्था अघिल्लो वर्षको तुलनामा करिब २७.६५ प्रतिशतले घटेको देखिन्छ । बैंकले खराब कर्जाको जोखिमका लागि छुट्याउनुपर्ने रकम घट्दा त्यसको प्रत्यक्ष प्रभाव खुद नाफामा पर्छ । कुमारी बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रोभिजन राइटब्याक गरेका छन् । कुमारीले करिब १ अर्ब ४४ करोड, नेपाल बैंकले १ अर्ब १ करोड र स्ट्यान्डर्ड चार्टर्डले करिब १५ करोड रुपैयाँ राइटब्याक गरेका हुन् ।

यता केही बैंकले अझै ठूलो रकम प्रोभिजनमा राख्नुपरेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले करिब ६ अर्ब १९ करोड रुपैयाँ, प्रभु बैंकले ४ अर्ब ९४ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याएका छन् । प्रोभिजन बढाउने बैंकमध्ये लक्ष्मी सनराइजको वृद्धि सबैभन्दा उच्च रहेको छ । बैंकको प्रोभिजन करिब १७७.९२ प्रतिशतले बढेको छ । प्रभुको १०५.७७ प्रतिशत र माछापुच्छ्रेको ९४.३५ प्रतिशतले बढेको छ ।