• २०८३ भदौ १
  • 2026 August 17, Monday

पार्टीमा ओलीको विरोध गर्नेलाई महेश बस्नेतले दिए लामखुट्टेको संज्ञा

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्नेहरुलाई लामखुट्टेको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अध्यक्ष ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्रको एक समूहले कुना काप्चाका लामखुट्टेलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गरेको टिप्पणी गरेका हुन् । बस्नेतले एमालेभित्र दुई प्रकारका प्रवृत्ति रहेको, जसमा एकथरी नेता कार्यकर्ता पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको पक्षमा इमानदारीपूर्वक खटिएका छन् भने अर्को सानो समूह गुटबन्दी, नेतृत्वको आलोचना र आन्तरिक विवादमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरुलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ। आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने होइन, पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने हो। कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढने हो ।’

उनले पार्टी कार्यालयको चौर र क्यान्टिनमा बसेर नेतृत्वको विरोध गर्दै ‘चियाको कपमा क्रान्ति’ गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने दाबी गरेका छन् ।

बस्नेतले अहिलेको आवश्यकता गुट उपगुटमा विभाजित हुने नभई पार्टीलाई थप एकताबद्ध, सुदृढ र गतिशील बनाउने रहेको बताए । उनले आन्तरिक विवादभन्दा जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अघि बढाउन सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

यसअघि, एमालेका नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रको वैचारिक बहस, नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रबारे आत्मसमीक्षा गर्न सुझाव दिएका थिए ।

रावलले सामाजिक सञ्जालमार्फत ओलीलाई सम्बोधन गर्दै हालै इलामको कार्यक्रममा व्यक्त अभिव्यक्तिले गम्भीर वैचारिक प्रश्न जन्माएको बताएका छन् । उनले आफ्ना धारणा पार्टीको बृहत्तर हितका लागि राखेको उल्लेख गरेका छन् ।

रावलले पार्टीमा चिया गफसँगै वैचारिक बहस गर्ने कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित नभएको बताएका छन् । विगतमा संघर्षका क्रममा त्यही कार्यकर्तासँग बसेर राजनीति र क्रान्तिबारे बहस गर्ने नेतृत्वले अहिले त्यस्ता कार्यकर्तालाई फरक रूपमा हेर्नु विरोधाभासपूर्ण भएको उनको भनाइ छ ।

त्यस्तै, पार्टीमा नेतृत्व परिवर्तन र हस्तान्तरणको माग गर्ने कार्यकर्तालाई ‘अराजक’ भन्नु कुन मार्क्सवादी सिद्धान्तमा आधारित हो भन्दै उनले प्रश्न गरेका छन् । आफूले विगतमा नेतृत्व परिवर्तनको माग गर्दै संघर्ष गरेको प्रसंग उल्लेख गर्दै अहिले उही माग गर्नेहरूलाई अराजक भन्नु दोहोरो मापदण्ड भएको रावलले बताएका छन् ।

पार्टी सुधार र रूपान्तरणको माग गर्नेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्नु उचित नभएको पनि उनले बताएका छन् । एमाले कुनै व्यक्तिको निजी संस्था नभई हजारौँ सहिदको बलिदान र लाखौँ कार्यकर्ताको योगदानबाट बनेको साझा घर भएको रावलको भनाइ छ ।

रावलले नेताहरूको अवसर र जिम्मेवारीबारे पनि आत्मसमीक्षाको आवश्यकता औँल्याएका छन् । अरू नेताले पटक-पटक अवसर पाएको भन्दै आलोचना गर्ने तर नेतृत्वका आफ्नै हकमा त्यस्तो मापदण्ड लागू नहुने अवस्था हुनु कति उचित हो भन्दै उनले प्रश्न गरेका छन् ।

उनले आफूले उठाएका प्रश्न व्यक्तिगत आक्रोश वा पूर्वाग्रह नभई पार्टीलाई सही दिशामा अघि बढाउने, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र वैचारिक बहसलाई जीवित राख्ने उद्देश्यले राखिएको बताएका छन् ।