• २०८३ भदौ ३
  • 2026 August 19, Wednesday

युट्युबको भ्यूज गणनाको तरिकामा परिवर्तन

काठमाडौँ । युट्युबले भिडियोको भ्यूज गणना गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले भिडियो वा प्रत्यक्ष प्रसारण चलाउनेबित्तिकै त्यसलाई एक भ्यूजका रूपमा गणना गरिनेछ ।

यसअघि सामान्य भिडियोमा प्रयोगकर्ताले कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र भ्यूज गणना हुने व्यवस्था रहेको थियो। अब भने लामो भिडियो, प्रत्यक्ष प्रसारण र छोटा भिडियो गरी सबै प्रकारका सामग्रीमा भिडियो सुरु भएलगत्तै भ्यूज गणना हुने व्यवस्था लागू हुनेछ ।

युट्युबले भ्यूज गणनासम्बन्धी फरक-फरक मापदण्डका कारण सिर्जनाकर्ता र विज्ञापन साझेदारमा देखिएको अन्योल हटाउन यो परिवर्तन गर्न लागेको बताएको छ ।

यसअघि छोटा भिडियो, प्रत्यक्ष प्रसारण र सामान्य भिडियोका लागि भ्यूज गणना गर्ने तरिका फरक थियो । नयाँ व्यवस्थाले सबै प्रकारका भिडियोमा समान मापदण्ड लागू गर्ने युट्युबले बताएको छ । अन्य भिडियो मञ्चहरूले पनि भिडियो सुरु हुनेबित्तिकै भ्यूज गणना गर्ने भएकाले नयाँ व्यवस्थाले सिर्जनाकर्ता तथा व्यवसायिक साझेदारलाई आफ्नो सामग्रीको पहुँच सहज रूपमा मूल्याङ्कन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

युट्युबमा सार्वजनिक रूपमा देखाइने भ्यूज संख्या नयाँ व्यवस्थाअनुसार छिटो बढ्नेछ । तर क्रियटर्सले अहिलेसम्म प्राप्त गर्दै आएको वास्तविक भ्यूजसम्बन्धी विस्तृत तथ्याङ्क भने हट्ने छैन । त्यस्तो तथ्याङ्क युट्युबको विश्लेषण प्रणालीमा पुरानै भ्यूज मापनका रूपमा उपलब्ध रहनेछ । यसबाट क्रियटर्सले कति दर्शकले भिडियोमा वास्तविक रुचि देखाएर थप समयसम्म हेरे भन्ने बुझ्न सक्नेछन् ।

नयाँ भ्यूज गणना प्रणाली लागू भए पनि क्रियटर्सको कमाइमा प्रत्यक्ष परिवर्तन नहुने युट्युबले जनाएको छ । सिर्जनाकर्ताको कमाइ अझै पनि दर्शकले संलग्न भएर हेरेको समय तथा छोटा भिडियोका योग्य भ्यूजमा आधारित हुनेछ । त्यसैगरी, युट्युबबाट कमाइ गर्न आवश्यक योग्यताका मापदण्डमा पनि कुनै परिवर्तन गरिएको छैन । यद्यपि, युट्युबले कमाइ कार्यक्रमका लागि आवश्यक मापदण्डमा प्रयोग हुने शब्दावलीलाई अब योग्य छोटा भिडियो र योग्य हेराइ समयका रूपमा प्रयोग गर्ने भएको छ ।

नयाँ भ्यूज गणना प्रणाली २४ अगस्ट २०२६ देखि लागू हुनेछ । त्यसपछि युट्युबमा सामान्य भिडियो र प्रत्यक्ष प्रसारणको सार्वजनिक भ्यूज संख्या हेर्दा अहिलेको तुलनामा फरक देखिने बताइएको छ ।