• २०८३ भदौ ७
  • 2026 August 23, Sunday

नाडा अटो शो २०२६ : गाडी मात्र होइन, समग्र अटो उद्योगको प्रदर्शनी

काठमाडौं । आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा नयाँ सवारीसाधनसँगै सवारीसाधनको प्रयोग, मर्मतसम्भार र वित्तीय व्यवस्थासँग जोडिएका सामग्री तथा सेवासमेत प्रदर्शन गरिने भएको छ।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा यात्रुवाहक सवारीसाधनका २३, हल्का व्यावसायिक सवारीसाधनका १७ र दुईपाङ्ग्रे सवारीसाधनका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्।

तर प्रदर्शनीमा सवारी ब्रान्ड मात्र मुख्य आकर्षणका रूपमा रहने छैनन्। करिब ७० वटा कम्पनीले टायर, ब्याट्री, इन्जिन तेल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, सवारी परीक्षण उपकरण, ग्यारेजका औजार, मार्ग पहिचान तथा सवारी निगरानी प्रणाली, सहायक सामग्री र विद्युतीय सवारी चार्ज गर्ने उपकरण प्रदर्शन गर्नेछन्।

त्यस्तै, करिब १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले सवारी कर्जा, बिमा र विद्युतीय सवारीसाधन खरिदका लागि लक्षित वित्तीय योजनासहित सहभागिता जनाउनेछन्।

आयोजकका अनुसार उपभोक्ताले सवारीसाधन खरिद गर्दा गर्ने निर्णयसँगै त्यसको दीर्घकालीन सञ्चालन, मर्मतसम्भार, बीमा, कर्जा तथा आवश्यक सामग्रीबारे पनि जानकारी लिन सक्ने गरी प्रदर्शनीको संरचना तयार गरिएको छ।

प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, सवारीसाधनका पार्टपुर्जा तथा ग्यारेज उपकरण गरी छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। यसले एउटै भ्रमणमा सवारीसाधन खरिददेखि त्यसको सञ्चालन र मर्मतसम्भारसम्मका विषयमा जानकारी लिन सहज हुने आयोजकको भनाइ छ।

यस वर्षको प्रदर्शनीमा विभिन्न देशका सवारी ब्रान्ड सहभागी हुँदैछन्। युरोपेली प्रविधिसँग जोडिएको स्कोडा, मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन तथा चीनका चेरी, ओमोडा, जेकु र जीडब्ल्यूएमलगायतका ब्रान्ड प्रदर्शनीमा रहनेछन्। जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधनसमेत एउटै प्रदर्शनीस्थलमा देख्न सकिनेछ।

विदेशी ब्रान्डका लागि अन्तर्राष्ट्रिय व्यापार कक्ष तथा स्वदेशी उत्पादन र सवारीसाधन जडानलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मेड इन नेपाल, मेड फर नेपाल’ कक्षसमेत निर्माण गरिएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शोमा नयाँ गाडी मात्र नभई ती सवारीसाधनलाई वर्षौँसम्म सञ्चालनमा राख्ने सम्पूर्ण उद्योगलाई समेत देखाउनुपर्ने बताए ।

उनका अनुसार पाँच दशकअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी सीमित स्थानमा आयोजना गर्नुपर्ने अवस्था थियो। अहिले तीन लाख वर्गफिट क्षेत्रफलमा प्रदर्शनी आयोजना गर्नुपर्ने अवस्था आउनु नेपालमा सवारीसाधनको संख्या बढेको मात्र नभई यससँग जोडिएको समग्र उद्योगको विस्तार भएको प्रमाणसमेत हो ।

आयोजकका अनुसार यस वर्षको नाडा अटो शोले सवारीसाधन खरिद गर्ने उपभोक्तालाई नयाँ गाडी तथा मोटरसाइकल हेर्ने अवसरसँगै त्यसपछि आवश्यक पर्ने कर्जा, बीमा, पार्टपुर्जा, मर्मतसम्भार र प्रविधिबारे समेत एउटै थलोबाट जानकारी दिनेछ।

६ दिनसम्म सञ्चालन हुने प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ।