सिराहा । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले ENSSURE परियोजना अन्तर्गत हेल्भेटास नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँगको सहकार्यमा युवालाई उद्योगमा आधारित व्यावहारिक सीप र कार्यअनुभव प्रदान गर्ने उद्देश्यले अप्रेन्टिसशिप कार्यक्रम सञ्चालन गरिरहेको छ।
कार्यक्रमअन्तर्गत लहान टेक्निकल स्कुलका मेकानिकलतर्फका २०८२–२०८४ ब्याचका विद्यार्थीहरूले ६ महिने सैद्धान्तिक अध्ययनपछि शौर्य सिमेन्टमा १८ महिने औद्योगिक व्यावहारिक प्रशिक्षण प्राप्त गरिरहेका छन्।
यस सहकार्यले कक्षाकोठामा प्राप्त प्राविधिक ज्ञानलाई वास्तविक औद्योगिक वातावरणसँग जोड्दै विद्यार्थीलाई मेकानिकल उपकरण तथा प्रणाली, मर्मतसम्भार, समस्या पहिचान तथा समाधान, औद्योगिक सुरक्षा, कार्यअनुशासन र व्यावसायिक व्यवहार सम्बन्धी व्यावहारिक सीप विकास गर्ने अवसर प्रदान गरेको छ।

कार्यक्रमको अनुगमनका क्रममा मधेश प्रदेशका माननीय शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले शौर्य सिमेन्टको भ्रमण गरी अप्रेन्टिस विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरे। उनले सीपमूलक शिक्षा, उद्योगसँगको सहकार्य र युवालाई रोजगारीसँग जोड्ने अप्रेन्टिसशिप कार्यक्रमको महत्वमा जोड दिएका थिए।
कार्यक्रमका क्रममा CTEVT तथा हेल्भेटास नेपालका प्रतिनिधिहरूले शौर्य सिमेन्टले उपलब्ध गराएको सुरक्षित, अनुशासित र सिकाइमैत्री औद्योगिक वातावरणको प्रशंसा गर्दै उद्योग, प्राविधिक शिक्षालय, CTEVT तथा विकास साझेदारबीच निरन्तर समन्वयको आवश्यकता औंल्याएका छन्।
शौर्य सिमेन्टका महाप्रबन्धक गुरुदयाल सिंहले अप्रेन्टिसशिप कार्यक्रमले उद्योगको वास्तविक आवश्यकता र प्राविधिक शिक्षाबीचको दूरी कम गर्दै दक्ष, आत्मविश्वासी र रोजगारयोग्य जनशक्ति विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। शौर्य सिमेन्टले आगामी दिनमा पनि उद्योगलाई आवश्यक दक्ष प्राविधिक जनशक्ति विकास गर्न सीप तथा अप्रेन्टिसशिप कार्यक्रमलाई आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
