• २०८३ भदौ ८
  • 2026 August 24, Monday

बतास हायर पर्चेज अब ‘नियोफिन हायर पर्चेज’, केडिया अर्गनाइजेसनले गर्‍यो नयाँ ब्रान्डिङसहित नाम परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर-बैंकिङ वित्तीय संस्था ‘बतास हायर पर्चेज प्रा.लि.’ ले आफ्नो नाम परिवर्तन गरी ‘नियोफिन हायर पर्चेज प्रा.लि.’ (Neofin Hire Purchase Pvt. Ltd.) को रूपमा नयाँ ब्रान्ड पहिचान सार्वजनिक गरेको छ। नेपालको प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेसनले पूर्ण स्वामित्व ग्रहण गरेसँगै कम्पनीलाई डिजिटल प्रविधिमा आधारित अत्याधुनिक वित्तीय संस्थाको रूपमा रूपान्तरण गरिएको हो।

वि.सं. २०६० मा पोखराबाट यात्रा सुरु गरेको यस कम्पनीले हाल ७५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। कम्पनीले २४० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने देशभर ४ हजारभन्दा बढी मर्चेन्ट साझेदारहरूसँग सहकार्य गरिरहेको छ।

नियोफिनले सवारी साधन, स्मार्टफोन र इलेक्ट्रोनिक्स वस्तुहरूको खरिदका लागि ६ देखि ८४ महिनासम्मको लचिलो किस्ताबन्दी (EMI) योजना ल्याएको छ। कम्पनीले कर्जा प्रवाहलाई थप सहज बनाउन ‘Buy-Now-Pay-Later’ (BNPL) सेवा, मोबाइल एप र अनलाइन कर्जा आवेदन जस्ता डिजिटल सुविधाहरू विकास गरेको छ, जसले गर्दा ग्राहकले केही मिनेटमै कर्जा स्वीकृति पाउन सक्नेछन्।

नियोफिनले विशेषगरी साना व्यवसायीलाई इन्भेन्ट्री विस्तार गर्न र युवाहरूलाई रोजगारी वा व्यक्तिगत प्रयोजनका लागि मोटरसाइकल तथा स्मार्टफोन खरिद गर्न आर्थिक सहयोग पुर्‍याउने लक्ष्य राखेको छ। वित्तीय पहुँचबाट टाढा रहेका समुदायसम्म पुग्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) राजेन्द्र प्रसाद तिम्सिनाले नाम परिवर्तन केवल औपचारिकता मात्र नभई डिजिटल दक्षता र जवाफदेही कर्जा प्रवाहप्रतिको प्रतिबद्धता रहेको बताए। उनले भने, “हामी नेपालका युवा, साना व्यवसायी र वित्तीय सेवाबाट वञ्चित समुदायसम्म भरपर्दो, पारदर्शी र दिगो वित्तीय समाधान पुर्‍याउन प्रतिबद्ध छौं।”

केडिया अर्गनाइजेसन अन्तर्गत सिद्धार्थ बैंक, सिद्धार्थ क्यापिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स जस्ता ठूला वित्तीय संस्थाहरूको अनुभव र सुशासनको जगमा नियोफिनले आफ्नो यात्रालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। कम्पनीको प्रधान कार्यालय पोखराको न्यूरोडमा र शाखा कार्यालय काठमाडौंको नारायणचौर, नक्सालमा रहेको छ।