काठमाडौं । भारतको सहयोगमा ललितपुरमा कुमारी छेँ र नयाँ कुमारी निवासको निर्माण सम्पन्न भएको छ। भारतको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब ५ करोड रुपैयाँमा पुनर्निर्माण गरिएको पाटनस्थित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको सोमबार संयुक्तरुपमा उद्घाटन भएको हो।
निवासको उद्घाटन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको गहिरो साँस्कृतिक सम्बन्धलाई प्रकाश पारे। नेपालका ऐतिहासिक धरोहरहरुको पुनर्स्थापनाका लागि भारतको निरन्तर सहयोग रहेको उल्लेख गर्दै उनले पुनर्निर्मित संरचनाहरु दुई देशबीचको साझा सम्पदा र मित्रताको चिरस्थायी प्रतीकको रुपमा उभिएको बताए।
कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर र अन्य जिल्लाहरूका साँस्कृतिक सम्पदास्थलहरुको पुनर्निर्माण र पुनर्स्थापनामा भारत सरकारले पुर्याएको योगदानको प्रशंसा गरे। उनले स्थानीय समुदायलाई समेत भारतको सहयोग र सहकार्यको लागि आभार प्रकट गरे।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) द्वारा कार्यान्वयन गरिएको उक्त पुनर्निर्माणको डिजाइन र परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रष्ट फर आर्ट्स एण्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको थियो।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायतामार्फत नेपालका ८ वटा जिल्लाका ३० वटा साँस्कृतिक सम्पदा स्थलहरुको संरक्षणमा सहयोग पुर्याएको भारतीय दूतावासले जनाएको छ। भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवासहरुको पुनर्निर्माण, ८ वटा जिल्लामा ८५ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण तथा नेपालका ११ वटा जिल्लामा १३३ वटा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा समेत सहयोग गरेको छ।