काठमाडौँ । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले आज काठमाडौँमा जारी नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ RVX सार्वजनिक गरेको छ। RVX भारतको नम्बर १ इलेक्ट्रिक बाइक ब्रान्ड तथा रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिभोल्ट मोटर्सको सबैभन्दा शक्तिशाली र प्रविधियुक्त इलेक्ट्रिक बाइक हो। उत्कृष्ट कार्यक्षमता, बौद्धिक प्रविधि र व्यक्तिगत पहिचानलाई समान रूपमा रोज्ने पुस्ताका लागि डिजाइन गरिएको RVX ले नेपालमा विद्युतीय गतिशीलता (Electric Mobility) को नयाँ अध्यायको सुरुवात गरेको छ।
RVX सीमित अवधिको लागि रु ३.९९ लाखको सुरुआती मूल्यमा सार्वजनिक गरिएको छ। नाडा अटो शो २०२६ मा रहेको रिभोल्ट पेभिलियन तथा काठमाडौँको पानीपोखरीस्थित रिभोल्टको फ्ल्यागसिप शोरुममा बुकिङ र टेस्ट राइड खुला भइसकेको छ। नेपालभरि विस्तार भइरहेको रिभोल्टको शोरुम नेटवर्कमार्फत छिट्टै यसको डेलिभरी सुरु गरिनेछ।
नेपालमा वातावरणमैत्री गतिशीलताको प्रयोग तीव्र भइरहँदा, राइडरहरूले दैनिक व्यावहारिकताका साथसाथै रोमाञ्चक अनुभव, आधुनिक प्रविधि र आत्म-अभिव्यक्ति दिने सवारीसाधन खोजिरहेका छन्। RVX ठ्याक्कै यही नयाँ पुस्ताका राइडरहरूलाई ध्यानमा राखेर तयार पारिएको हो। यसले नेपालको बाटो, भू-बनावट र जलवायु अनुकूल हुने गरी रोमाञ्चक पर्फर्मेन्स, उन्नत कनेक्टिभिटी र कम सञ्चालन खर्चलाई एउटै प्याकेजमा समेटेको छ।
सार्वजनिक कार्यक्रममा बोल्दै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले भने, “नेपालमा सुरुवातदेखि नै रिभोल्टले पाएको प्रतिक्रिया निकै उत्साहजनक छ। नेपाली राइडरहरूका लागि विद्युतीय गतिशीलताको उत्कृष्ट प्रविधि ल्याइरहने हाम्रो प्रतिबद्धताको नतिजा RVX हो। यो शक्तिशाली, स्मार्ट र हाम्रा युवा पुस्ताले रोज्ने राइडिङ शैली अनुसार निर्माण गरिएको छ। इन्धनको बढ्दो मूल्य र वातावरणीय चेतनाका बीच RVX ले कार्यक्षमता वा शैलीमा कुनै सम्झौता नगरी दिगो र किफायती विकल्प प्रदान गर्छ।”

यसैगरी, रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडकी अध्यक्ष अञ्जली रतनले भनिन्, “नेपाल रिभोल्ट मोटर्सका लागि एक महत्त्वपूर्ण रणनीतिक बजार हो र RVX ले हाम्रो इन्जिनियरिङ र नवप्रवर्तनको उत्कृष्ट रूपलाई प्रतिनिधित्व गर्छ। यो नयाँ पुस्ता महत्त्वाकांक्षी, अभिव्यक्तिक्षम र भविष्यप्रति आशावादी छ। उनीहरू प्रविधिले आफूलाई प्रेरित गरोस् र आफ्नो पहिचान झल्काओस् भन्ने चाहन्छन्। RVX ले यही भावनालाई आत्मसात् गरेको छ। एमभी दुगड ग्रुपसँगको सहकार्यमा यसले नेपालमा पर्फर्मेन्स इलेक्ट्रिक बाइकको नयाँ मानक स्थापित गर्नेमा हामी विश्वस्त छौँ।”
पर्फर्मेन्स-उन्मुख इलेक्ट्रिक बाइकको रूपमा डिजाइन गरिएको RVX मा नयाँ ४ kW मिड-ड्राइभ PMSM मोटर रहेको छ, जसले ५.३ kW को पिक आउटपुट र ह्विलमा २३० Nm सम्मको टर्क प्रदान गर्छ। यो रिभोल्ट मोटर्सद्वारा निर्माण गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली बाइक हो। यसले मात्र ३.९ सेकेन्डमा ० देखि ४० किमी प्रतिघण्टाको गति लिन्छ भने बिल्कुलै नयाँ बुस्ट मोडमा ९० किमी प्रतिघण्टाको अधिकतम गति प्राप्त गर्छ।
RVX मा ३.२४ kWh को निकाल्न मिल्ने (Removable) NMC ब्याट्री छ, जसले एक पटकको फुल चार्जमा १६० किलोमिटरको IDC रेन्ज दिन्छ। फास्ट चार्जरको प्रयोग गरी यसलाई मात्र ८० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। रिमुभेबल ब्याट्री डिजाइनका कारण सामान्य घरायसी सकेटबाट पनि जुनसुकै ठाउँमा सजिलै चार्ज गर्न सकिन्छ, जुन नेपाली घरहरूका लागि विशेष व्यावहारिक छ।
RVX का प्रमुख विशेषताहरू:
* ५.३ kW पिक पावर र ह्विलमा २३० Nm सम्म टर्क दिने ४ kW मिड-ड्राइभ PMSM मोटर
* ३.२४ kWh रिमुभेबल NMC ब्याट्रीका साथ १६० किमी IDC रेन्ज; ८० मिनेटमा ० देखि ८० प्रतिशत फास्ट चार्जिङ
* चार वटा राइडिङ मोडहरू: बुस्ट (Boost), स्पोर्ट्स (Sports), सिटी (City) र इको (Eco)
* विविध सडकहरूमा उत्कृष्ट ह्यान्डलिङका लागि अपसाइड-डाउन (USD) फ्रन्ट फर्क र रियर मोनो-शक
* ३.५ इन्चको IP67-रेटेड PMVA डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो-फेन्सिङ र OTA अपडेटसहितको नयाँ डिजी-ड्याश (Digi-dash)
* कल तथा म्यासेज नोटिफिकेसन, हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटर
* तीन आकर्षक रङहरूमा उपलब्ध: पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड
सोही अवसरमा रिभोल्ट र एमभी दुगड ग्रुपले ‘नेपाल गर्छ रिभोल्ट’ नामक ब्रान्ड क्याम्पेन पनि अनावरण गरेका छन्, जुन रिभोल्टको नयाँ विश्वव्यापी ब्रान्ड मुभमेन्टको नेपाली संस्करण हो। यो अभियानले आत्मविश्वासले भरिएका, महत्त्वाकांक्षी र आफ्नै तरिकाले अघि बढ्न नहिचकिचाउने नेपाली राइडरहरूको सम्मान गर्छ, जसले गतिशीलतालाई आफ्नो पहिचान र सपनाको विस्तारका रूपमा हेर्छन्।

नाडा अटो शो २०२६ का आगन्तुकहरूले रिभोल्ट पेभिलियनमा RVX को प्रत्यक्ष अनुभव लिन, टेस्ट राइड गर्न र बाइक प्रि-बुकिङ गर्न सक्नेछन्। प्रारम्भिक ग्राहकहरूका लागि विशेष अफरहरू उपलब्ध गराइएको छ। RVX रिभोल्टको फ्ल्यागसिप शोरुमका साथै वीरगन्ज, जनकपुर, पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल र धनगढी लगायतका प्रमुख शहरहरूमा रहेका एमभी दुगड ग्रुपका शोरुमहरूमा उपलब्ध हुनेछ। प्रत्येक शोरुममा तालिमप्राप्त EV प्राविधिक, समर्पित सर्भिस पूर्वाधार र ओरिजिनल पार्ट्स तथा एसेसरिजको सुविधा रहनेछ।
१४२ वर्षको ऐतिहासिक यात्रा बोकेको एमभी दुगड ग्रुप नेपालका ठूला र प्रतिष्ठित पारिवारिक व्यावसायिक घरानाहरूमध्ये एक हो। अटोमोबाइल, हाइड्रो, निर्माण, कृषि, बैंकिङ, लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, रि-इन्स्योरेन्स र कोल्ड स्टोरेज लगायतका क्षेत्रमा यस ग्रुपले देशको विकास र आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
सन् २०१७ मा स्थापित रिभोल्ट (रिभोल्ट मोटर्स) भारतको विद्युतीय सवारीसाधन क्षेत्रमा नेतृत्वदायी भूमिकामा छ। भविष्यमुखी गतिशीलताका माध्यमबाट वातावरणमैत्री यात्रालाई सर्वसुलभ बनाउने लक्ष्यका साथ कम्पनीले भारतको पहिलो AI-सक्षम बाइक भित्र्याएको थियो, जसले नवप्रवर्तन, पर्फर्मेन्स र डिजाइनलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ। बाइकका अलावा, रिभोल्टले आफ्ना आधिकारिक डिलरशिपहरूमा ओरिजिनल पार्ट्स र एसेसरिजको पूर्ण दायरा प्रदान गर्दै आएको छ। रिभोल्ट मोटर्स ‘फॉर्च्यून ५०० इन्डिया’ सुचीमा सूचीकृत रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।