• २०८३ भदौ ११
  • 2026 August 27, Thursday

काठमाडौँबाट बाहिरिएका सवारी साधन गल्छीमा रोकियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेपछि काठमाडौँबाट बाहिरिएका सवारीसाधन गल्छीमा रोकिएका छन् । सडकमा रहेका सवारीसाधनलाई अग्लो तथा सुरक्षित स्थानमा रोकिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड ठप्प भएको छ ।

भोटेकोशीको बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडक तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रमा उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि नदीको जलसतह तीव्र रूपमा बढेको हो। बाढी तल्लो तटीय क्षेत्रमा समेत फैलिन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।