काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सहयोग चाहिए सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्को अवस्थामा जोखिममा रहेका नागरिकलाई आवश्यक सहयोग तथा सेवा उपलब्ध गराउन विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
आपतकालीन सम्पर्क नम्बरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय: ०१-४२०००८२, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र: १२३४, १११२, बालबालिका खोजतलास सेवा: १०४ र राष्ट्रिय महिला आयोग: ११४५ रहेका छन् ।
विपद्को समयमा आफू सुरक्षित रहन, जोखिममा रहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्न र आवश्यक सूचना सम्बन्धित निकायसम्म तत्काल पुर्याउन आग्रह गरिएको छ ।