• २०८३ भदौ ११
  • 2026 August 27, Thursday

भोटेकोशी बाढी : अहिलेसम्म मृत्यु हुनेको संख्या १७७ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १७७ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार विहिबार बिहान १० बजेसम्मको अपडेट अनुसार १७७ जनाको शव फेला परेको हो । जसमा रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये ठूलो संख्या अझै सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, स्याफ्रुबेँसीमा कार्यरत ८ जनामध्ये ५ जना, मैलुङमा कार्यरत ८ जनामध्ये ३ जना, बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । विवरणअनुसार हालसम्म २८ जना प्रहरी सम्पर्कमा नआएको जनाइएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बलका १३ जनासहित सर्वसाधारणसमेत रहेका छन् ।

अहिलेसम्मको विवरणअनुसार बाढीबाट ५७९ जना पर्यटक प्रभावित भएका छन् । रसुवाको धुन्चेतर्फबाट हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरिएको छ, जसमा १४ नेपाली र १०९ विदेशी नागरिक रहेका छन् ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, तनहुँ, चितवनलगायत क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको र सडक, पुल, जलविद्युत्, सञ्चार तथा खानेपानीका संरचनामा समेत ठूलो क्षति पुगेको छ ।