• २०८३ कार्तिक १९
  • 2026 November 05, Thursday

बाढी प्रभावितलाई आइएमई लाइफको १ करोड सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् घटनाप्रति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।

भीषण बाढी र डुबानका कारण सयौँ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौँ बेपत्ता भएको, बस्ती तथा पूर्वाधारहरू नष्ट भई सयौँ परिवार विस्थापित हुनुपरेको यस कठिन परिस्थितिमा कम्पनीले प्रभावित नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ।

विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुर्नस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय संघ–संस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. १ करोड (एक करोड रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग हस्तान्तरण गर्दै आइरहेको छ। हालको विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने यो आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनःस्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।