काठमाडौँ । त्रिशूली-१ जलविद्युत् आयोजनामा फसेका दुई कर्मचारीको नेपाली सेनाले आज बिहान उद्धार गरेको छ ।
सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन । उनीहरूको खोजी तथा उद्धारका लागि सेनाको टोली निरन्तर परिचालन भइरहेको छ ।
सुरुङभित्रको अवस्था निकै कठिन रहे पनि नेपाली सेनाले आवश्यक प्राविधिक उपकरण तथा विशेष तालिमप्राप्त उद्धार टोली परिचालन गरेको छ । बाँकी रहेका व्यक्तिको खोजी गरी सकुशल उद्धार गर्ने प्रयास जारी रहेको सेनाले जनाएको छ ।
त्यस्तै, त्रिशूली–३ ‘ए’मा फसेका हाइड्रो इन्जिनियरसहित ३५ जनाको टोलीको अझै उद्धार गरिएको छैन भने उनीहरूको छिटो उद्धारको पर्खाइमा छन् ।
सुरुङभित्र अक्सिजनको अभाव हुने हुँदा जोखिम थप बढेको छ भने विद्युत् आयोजनाको सुरुङमार्गको प्रवेशद्वार पुरिएकाले उनीहरुको उद्धारमा कठिनाइ भएको छ ।