• २०८३ कार्तिक २६
  • 2026 November 12, Thursday

चीन र भारत दुवै देशका सुरुङ उद्धार विज्ञ टोली बाढी प्रभावित क्षेत्रमा

काठमाडौं । नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउन चीन र भारतले राहत सामग्रीसँगै प्राविधिक टोली र पूर्वाधार सहयोग नेपाल पठाएका छन्।

चीनले आइतबार बिहान दुई ठूला वाई–२० सैन्य ढुवानी विमानमार्फत करिब ५० टन आपत्कालीन राहत सामग्री काठमाडौं ल्याएको छ। चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमान करिब तीन घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चीनले पठाएको सहयोगमा कुल १३ हजार २०० थान सामग्री छन्। तीमध्ये त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, सुक्खा खाना तथा प्राथमिक उपचारका किटलगायत विपद् प्रभावितका लागि आवश्यक सामग्री रहेका छन्।

राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन्। नेपाल–चीन सीमा क्षेत्रलगायत विभिन्न स्थानमा बाढीपहिरोबाट भएको क्षतिपछि उद्धार तथा प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले विशेषज्ञ टोली पठाइएको दूतावासले जनाएको छ।

काठमाडौंमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसीलाई हस्तान्तरण गरेका थिए। सोही अवसरमा नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञहरूको स्वागतसमेत गरिएको थियो।

यसैबीच, भारतले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि थप सहयोग विस्तार गरेको छ। भारतले ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपाल पठाएको जनाएको छ।

भारतीय वायुसेनाको सी–१३० विमानमार्फत आएको उक्त खेपमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहित सुरुङ प्राविधिक टोली र डीएनए विश्लेषण गर्न सक्ने फरेन्सिक विशेषज्ञहरू पनि समावेश छन्। राहत सामग्रीतर्फ कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्री पठाइएको छ।

भारतले यसअघि पनि नेपालका लागि औषधि, पोर्टेबल जेनेरेटर, तयारी खाना, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा अन्य प्राविधिक उपकरण पठाइसकेको जनाएको छ। पछिल्लो खेपसहित भारतबाट हवाई मार्ग हुँदै नेपाल आइपुगेको राहत सामग्रीको कुल मात्रा ६८।५ टन पुगेको बताइएको छ।

बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात सञ्चालनमा सहयोग पुर्‍याउन भारतले पूर्वाधार सामग्रीसमेत पठाएको छ। २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ पठाइएको भारतीय पक्षले जनाएको छ।

त्यसैगरी, थप सातवटा बेली ब्रिजका उपकरण तथा तिनको जडानका लागि आवश्यक प्राविधिक टोली पनि नेपाल पठाउने तयारी भइरहेको छ।

दुवै छिमेकी मुलुकबाट आएको राहत, उद्धार विशेषज्ञ र पूर्वाधारसम्बन्धी सहयोगले बाढीपहिरो प्रभावित क्षेत्रमा तत्कालीन राहत वितरण, खोज तथा उद्धार र क्षतिग्रस्त यातायात संरचना पुनः सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।