काठमाडौँ। सरकारले त्रिशूली ३ ‘ए’ आयोजनामा फसेकाहरूको उद्धारका लागि स्पेशल फोर्स परिचालन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार गर्ने काम सरकारले गएको रातभरि नै निरन्तर जारी राखिएको जनाएको हो ।
यद्यपि, आइबार बिहान करिब ४ बजे आयोजना स्थलमा पुनः बाढी आएको कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको कार्यालयले जनाएको छ। नदीको सतह अत्याधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको छ।
त्यसका बाबजुदपुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरिएको कार्यालयले जनाएको हो।
यसैगरी, पहिरो र माटोले पुरिएको त्रिशूली ३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न हेलिकप्टरमार्फत स्पेशल फोर्सु परिचालन गर्ने तयारी सुरु गरिएको समेत कार्यालयले उल्लेख गरेको छ।
सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरणहरू निकाल्ने तयारी छ।