• २०८३ भदौ १५
  • 2026 August 31, Monday

बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा २ करोड २१ लाख रुपैयाँ सहयोग

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड रुपैयाँ र बैंकका सञ्चालक तथा कर्मचारीहरूबाट संकलन गरिएको २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोष’ मा जम्मा गरेको हो।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा नेपाल सरकारका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २०८३ भदौ ११ गते उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक एवं मानवीय क्षति भएको छ। सोही विपत्तिबाट प्रभावितहरूलाई तत्काल राहत र सहयोग पुर्‍याउने उद्देश्यले बैंकले यो सहयोग उपलब्ध गराएको जनाएको छ।

बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैंकले ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बैंकले हालसम्म सम्पर्कमा नआएका नागरिकहरूको छिटो उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।